काठमाण्डौँ : समाजवादी पार्टी नेपालले पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन देशको ८ वटा प्रमुख शहरमा कार्यक्रम गर्ने भएको छ ।

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा विहीबार अबेर सकिएको पदाधिकारीको पहिलो बैठकले जेठ ११ गतेबाट कार्यक्रम सुरु गर्ने निर्णय गरेको सचिव प्रकाश अधिकारीले जानकारी दिए । मोरङको विराटनगरबाट शुभारम्भ हुने कार्यक्रम जेष्ठ २५ गते पोखरामा समापन हुनेछ । सो पार्टीले काठमाण्डौ सहित विराटनगर, जनकपुर, विरगंज, भैरहवा, नेपालगंज, सुर्खेत, र पोखरामा कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रमलाई पार्टी अध्यक्षद्धय बाबुराम भट्टराई र उपेन्द्र यादवले सम्बोधन गर्ने अधिकारीले जानकारी दिए ।

दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँच दिन भित्र समायोजन निर्दे्शिका तयार गर्न समिति समेत गठन भएको छ । बैशाख २३ गते संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टी्बिच एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्यान्त मिल्ने दल एवं संगठनलाई एकताको लागि अपील समेत गरेको छ ।