काकडभिट्टा: वर्मासँग सिमा जोडिएको उत्तरपुर्वी राज्य मिजोरमबाट उद्दार गरिएका २३ नेपाली महिलाहरुलाई नेपाल ल्याइएको छ ।

मानव तस्करको फन्दामा परेर ती महिलाहरु मिजोरम पुगेका थिए । उनीहरुलाई ४ दिन लगाएर बसमार्फत नेपाल ल्याइएको हो । शक्ति समुह, माइती नेपाललगायतको पहलमा उनीहरुलाई काँकडभिट्टा नाकाबाट आज स्वदेश फर्काइएको छ । ती महिलाहरुलाई मिजोरम पुर्याउने नेपाली भाषी दलाल लालबहादुर भन्नेलाई मिजोरम प्रहरीले पक्राउ गरिसकेको बताइएको छ ।

उनीहरुलाई कहाँ लैजाने तयारी थियो भन्ने विस्तृत खुलिसकेको छैन । तथापी, खाडी मुलुक पठाउन दलालहरुले त्यो रुट प्रयोग गरिएको आशंका गरिएको छ । यसअघि पनि एक सय भन्दा बढी नेपाली महिलाहरुलाई सोही बाटोबाट लैजादै गर्दा फकाइएको थियो । उद्दार गरिएकाहरु नेपालका विभिन्न जिल्लाका २० देखि ४५ उमेर समुहका छन् । फकाईएका मध्ये धेरै महिलाहरु सुनसरी, मोरङ र झापाका छन् ।

घरेलु कामदारकोरुपमा खाडी मुलुकमा जान सरकारले कडाई गरेपनि नेपाली महिलाहरु अवैधरुपमा जाने क्रम भने रोकिएको छैन । दलालहरुले भारतीय बाटो हुदै रुट परिवर्तन गर्दै नेपाली महिलाहरुलाई खाडी मुलुक लगिरहेकै छन् । पछिल्लो समय दलालहरुले मिजोरम, मणिपुरको रुटलाई प्रयोगमा ल्याएको पछिल्ला घटनाक्रमबाट खुलेको छ । त्यहाँबाट वर्मा, दक्षिण पुर्वी एसियाली राष्ट्र र खाडी मुलुक नेपाली महिलाहरुलाई दलालहरुले पुर्याउने गरेका छन् ।