धरान: इलाका प्रहरी कार्यालय धरानको प्रमुख भएर हालै मात्र आएका प्रहरी नायब उपरिक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले अपराधिक गतिविधि एवं गुण्डागर्दीविरुद्ध प्रहरी कठोर बन्ने बताए ।

प्रहरी प्रधान कार्यालयबाट गतहप्ता मात्र इलाका प्रहरी कार्यालय धरानको कमाण्ड सम्हाल्न आइपुगेका डिएसपी न्यौपानेले आज पत्रकारसँग परिचयात्मक कार्यक्रम गर्दै समाजमा अपराधिक गतिविधि गर्ने र लागुपदार्थविरुद्ध प्रहरी कठोर बन्ने बताए । ‘गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलता हुन्छ, कानुनका विरुद्ध जानेलाई तत्काल कानुन बमोजिम कारबाही हुन्छ,’डिएसपी न्यौपानेले भने,‘संगठन प्रमुखको प्राथमिकता पनि गुण्डागर्दीलाई निस्तेज पार्ने हो, यसैले गुण्डागर्दी विरुद्ध कठोर बन्छु ।’

डिएसपी सुमन कुमार तिम्सिनाको प्रदेश २ मा काज सरुवा भएपछि उनको ठाउँमा न्यौपाने आएका हुन् । झापा स्थायी घर भएका डिएसपी न्यौपानेले संगठनको मुलमन्त्र अपराधविरुद्ध कठोर र नागरिकसँग नम्र हुने भन्ने रहेकोले यसैलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताए । उनले धरानको प्रमुख समस्या लागुऔषध भएकोले यसको न्यूनिकरणको लागि विशेष योजना बनाएर लाने बताए । ‘लागुऔषध विरुद्ध प्रहरी कठोर हुन्छ,’डिएसपी न्यौपानेले भने,‘लागुऔषध ओसारपसारलाई रोक्नु मुख्य कुरा हो, त्यसैले धरानमा लागुऔषध भित्रिने नाकाहरुमा विशेष योजना बनाएर निगरानी बढाउछु ।’

'शान्ति सुरक्षा सबैको दायित्व हो'

dsp-dundiraj-neupanee

धरानलाई शान्ति सुरक्षा दिनको लागि कुनै कसुर बाँकी नराख्ने बताउदै डिएसपी न्यौपानेले शान्ति कायम गर्ने प्रहरीको मात्र नभएर सबैको दायित्व रहेको उल्लेख गरे । ‘सबैसंग सहकार्य गरेर अगाडी बढ्छु, मलाई सबैको सहयोग चाहिन्छ,’उनले भने,‘म तपाईहरुको मन जितेर जान्छु ।’

शुरुमा पत्रकारहरुबाट धरानको अवस्थाबारे सुझाब लिएका डिएसपी न्यौपानेले यसअघिको नेतृत्वले गुण्डागर्दी र लागुऔषधविरुद्ध अघि सारेका योजनालाई निरन्तरता दिएर लाने जनाए । ‘म अहिले पुरानो रेकर्ड हेदैछु, त्यही अनुसार तिनीहरुको अवस्था के छ, त्यसको निगरानी गदैछु,’डिएसपी न्यौपानेले भने,‘आफु यसभन्दा अघिपनि तत्कालिन अञ्चल प्रहरी धरान(संघीय प्रहरी इकाइ) मा बसेको, बेलबारी, झुम्काको नेतृत्व सम्हाली सकेकोले धेरै कुराको जानकार छुँ ।’

गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत उल्लेखित बुँदाहरुमा उल्लेखित योजनाहरुलाई टेकेर धरानको शान्ति सुरक्षा चुस्त बनाउने उनले प्रतिबद्धता जनाए । ‘गृह प्रशासन सुधारमा उल्लेख भएअनुसार कुनै घटना भए त्यहीबाट तत्काल सुरक्षा दिनको लागि क्यूआरटी टोली खटाउछौ,ं’उनले भने,‘धरानको विशेष ५ ठाउँमा क्यूआरटी टोली परिचालन हुन्छ ।’

विद्यालय पोशाकमा घुम्ने विद्यार्थी पनि कारबाहीमा पने

डिएसपी न्यौपानेले विद्यालय समयमा पढाइ छाडेर विद्यालयको पोशाकमा घुम्न निस्किने विद्यार्थीहरुलाई समेत कारबाही गर्ने बताए । विद्यार्थीहरु कलेज वा स्कुल बंक गरेर जाने एरियाहरुमा निगरानी बढाइने पनि उनले बताए ।

धरानको शान्ति सुरक्षामा सडक बालवालिका समेत मुख्य चुनौती देखिदै आएकोले तिनीहरुलाई सचेतना गराउने र उनीहरुको घरपरिवारमा जिम्मा लाउने काम पहिलो चरणमा गरिने उनको भनाई थियो । धरानको राजनीतिक दल र होटल व्यावसायीलाई बोलाएर राती ११ बजेभित्रमा पसल बन्द गर्ने सहमति भएको जनाउदै सहमतिको पालना गरेर शान्ति सुरक्षा अमनचयन राख्नमा सहयोग गर्न समेत आग्रह गरे ।