धरान:घुम्न जाउँ धरान भन्ने नाराको साथ १५ औं धरान सडक उत्सव आजदेखि शुरु भएको छ ।

मौषम प्रतिकुल भएपछि निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिला उत्सवको औपचारिक उद्घाटन भएको छ । दिउँसो ३ बजे उद्घाटन कार्यक्रम हुने भनिए पनि बर्षाले गर्दा प्रभावित उत्सवको झण्डै ३ घण्टापछि धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गरिन् । धरानको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य रहेको उत्सव बैशाख ३० गतेसम्म हुनेछ ।

IMG_20190511_191644

सडक उत्सव होटल एशोसिएशन अफ धरानले आयोजना गरेको हो । उत्सव धरान १२ स्थित चतरालाइनमा आयोजना भएको छ । उत्सवको मुख्य उद्देश्य धरानको प्रचारप्रसार गर्नु र पर्यटन विकास तथा प्रर्वद्धन गर्नु रहेको संयोजक सुवर्ण श्रेष्ठले बताए । तीन दिने उत्सवमा आयोजकका अनुसार उत्सवस्थलमा ८० भन्दा बढी स्टल रहेको छ । स्टलमा विभिन्न जातिय खाना तथा परिकारहरु, कृषि उत्पादन, घरेलु उत्पादनहरु राखिएको छ ।

IMG_20190511_191916

उत्सव अवधिमा पर्यटकहरुलाई लक्षित गरी ३ प्रकारको टुर प्याकेज पनि आयोजकले तयार गरेको जनाएको छ । टुर प्याकेजमा खाना विनाको एक दिने प्याकेज, खानासहितको प्याकेज र एक रात सहितको टुर प्याकेज रहेको आयोजकले जनाएको छ । यो टुर प्याकेज १ हजार ५ सयदेखि २ हजार ५ सयसम्मको छ । तीन दिने उत्सवमा मनोरञ्जनको लागि रस्सीतान प्रतियोगिता, साँझमा सांगीतिक कार्यक्रम पनि हुनेछ । उत्सव अवधिमा डेढ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको पनि आयोजक संघका अध्यक्ष सरोज भटराईले जानकारी दिए ।

IMG_20190511_191624 IMG_20190511_191901