ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सुनसरीमा हतियारको कारोबार बढ्दो” शीर्षकको समाचार छापिएको छ । घटना १ः २०७५ साल कार्तिक २३ गते नेपाल–भारत सीमास्थित सुनसरीको कोशी गाउँपालिका ७ मुसहरी टोलमा नेपाल प्रहरीको गोली लागि एकजना डाका मारिए । हतियार सहित चौपाय चोरी गर्न सीमावर्ती क्षेत्र छिरेको डाका समूहले गस्तीमा खटिएको प्रहरी टोलीमाथी आक्रमण गर्दा प्रहरीको जवाफी कारबाहीमा सप्तरी हनुमाननगर कङकालिनी नगरपालिकाका नसरुल मियाँको मृत्यु भयो । मियासँगै आएका अरु डाकाहरु भाग्न सफल भ एभने प्रहरीले घटनास्थलबाट २ थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने गोली वरामद गर्यो । घटना २ः २०७५ साल कार्तिक १ गते दिउँसो केही समयको अन्तरालमा भण्टाबारी र श्रीपुरबाट तीनजना भारतीय हतियारसहित पक्राउ परे । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतीय अनटेष्ट मोटरसाइकल चेकजाँच गर्दा विहार राज्यको सुपौल जिल्ला बस्ने १८ वर्षीय विवेक यादव र १७ वर्षीय सुमित गोइतलाई १ थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लियो । यसैगरी सोहीदिन चाइनिज अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक रञ्जितकुमार मुखिया पक्राउ परे । उनलाई विओपी सशस्त्र प्रहरी भण्टाबारीले पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगायो । सुनसरी प्रहरीको तथ्याङ्क अनुसार माथि उल्लेखित घटना केही उदाहरण मात्र हुन् । जिल्ला प्रहरी कार्यालयको ०७२, ७३ सालयताको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षमा सुनसरीमा हातहतियारको कारोबार बढेको छ । ०७५,७६ सालको चालुआर्थिक वर्षको हालसम्म जिल्लामा हतियारसहित १७ जना पक्राउ परेका छन् भने ९ जना फरार छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “नर्सकोे पीडाः पढाइ खर्च ९ लाख, तलब ७ हजार” शीर्षकको समाचार छापिएको छ । करुणा तिम्सिनाले २०५२ सालमा नर्सिङ अध्ययनको प्रवीनता प्रमाणपत्रको परिक्षा दिइन् । परीक्षा दिनेबित्तिकै जागिरको अफर आयो । विराटनगरमा कोशी अञ्चल छेउको त्रिभुवन विश्वविद्यालयको नर्सिङ कलेजमा पढेकी उनले रिजल्ट नआउन्जेल जागिर पाइन् । परिक्षाको नतिजा नआइ जागिर पाएकी तिम्सिनाले नतिजा आएपछि भने सोही तहको तलब पाउन थालिन् । २०५४ सालमा उनी निजामती सेवाबाटै सोही अस्पतालमा भर्ना भइन् । आफुले परिक्षा दिनेवित्तिकै जागिर पाएको बताएकी तिम्सिना अहिले भने नर्सहरु भोकभोकै हुनुपरेको बताउँछिन् । सुनसरी जिल्ला अस्पतालमा कार्यरत तिम्सिना भन्छिन्, ‘पहिले माग धेरै थियो र हामीले हामीले जागिर पाइहाल्थ्यौँ तर अहिले माग भन्दा आपूर्ति धेरै छ ।’ २२ वर्ष निजामती सेवामा रहेकी तिम्सिनाकाअनुसार सरकारी क्षेत्र बाहेकका संस्थामा कार्यरत नर्सहरुको अवस्था धेरै नाजुक रहेको छ । ‘अहिले नर्सहरुले अनुभवको लागि भन्दै निःशुल्क काम गरेको र निजी अस्पतालमा काम गर्नेले ६–७ हजारमा पनि काम गरेका छन् ।’, उनले भनिन् । आफुले सरकारी संस्थाबाट पढेजस्तो सहज अहिलेका सीटिइभीटीबाट परिक्षा दिने नर्सहरुलाई नभएको तिम्सिना बताउँछिन् । ९ लाख हाराहारी खर्च गरेर पढेपछि निशुल्क वा ६,७ हजारमा काम गर्न नर्सहरु विवश भएको उनको भनाई छ ।