धरान(डेस्क): मोरङको उर्लाबारीस्थित युट्युबर किसोर श्रेष्ठलाई शुक्रबार राती करिब १०ः३० बजे अपरिचित नम्बरबाट मोवाइलमा फोन आयो । ती व्यक्तिले उनलाई अन्र्तवार्ता लिन आग्रह गर्दै फेसबुक आईडी मागे । श्रेष्ठले फेसबुक आइडि दिए ।

श्रेष्ठ युवामन नेपाल नामको युट्युब च्यानल चलाउछन् । स्थानीय पत्रपत्रिकामा स्वतन्त्ररुपमा लेख्ने श्रेष्ठको भनाई छ । ती व्यक्तिसँग फेसबुकमा जोडिएपछि पनि उनले त्यही कुरा दोहोर्याए, अन्र्तवार्ताको । ती व्यक्तिले १ नं प्रदेशमा बम राख्ने जानकारी दिदै युट्युबमा सोही बिषयमा अन्र्तवार्ता दिने बताए । श्रेष्ठले त्यस्तो अन्र्तवार्ता लिन मानेनन् । अन्र्तवार्ता नलिएपनि उनले फेसबुकमा बम राख्ने बिषयको जानकारीसहित पोष्ट गरिदिए । तर, केही पत्रकार साथीहरुकै आग्रहमा उनले १० मिनेटभित्रै पोष्ट डिलिट पनि गरेका थिए ।

भोलीपल्ट शनिबार उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले बोलायो । बिहान करिब ८ बजेतिर प्रहरी कार्यालय पुगेका उनी ३, ४ पटक बाहिरभित्र आउजाउ गर्न पाएका थिए । उनी शनिबार बेलुकी घर फर्किएका थिए । तर, आज आइतबार बिहानै झापाको माइ पुलमा शंकास्पद बस्तु फेला परेपछि भने प्रहरीले उनलाई नै थप शंकाको घेरामा राखेको छ । उनी आज बिहान करिब साढे ७ बजेदेखि प्रहरी कार्यालयमा नै छन् । ‘मैले त झन् यस्तो हुदैछ है भनेर फेसबुकमा सुचना दिएको थियो, साथीहरुले भनेर नै डिलिट पनि गरिदिइहालेको थिएँ,’प्रहरी कार्यालयमा रहेका श्रेष्ठले मोवाइल सम्पर्कमा भने,‘आज पनि साढे ७ बजे सोधपुछको लागि भनेर बोलाउनु भयो, जान मिल्दैन भन्दै हुनुहुन्छ ।’

आज बिहानै झापामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । सञ्चारकर्मी श्रेष्ठले फेसबुकमा पोष्ट गरेको बिषय पनि यसैसँग सम्बन्धित हुनसक्ने भन्दै मोरङ प्रहरीले उनलाई सोधुपुछको लागि बोलाएको हो । केही सञ्चारमाध्यमहरुमा उनलाई प्रहरीले पक्राउ गरेको समाचार पनि सार्वजनिक भएको छ । तर, मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसी भने उनलाई पक्राउ नगरिएको बताउँछन् । एसपी केसीका अनुसार श्रेष्ठले नै फेसबुकमा बमको बिषयमा जानकारी भएकोले सुचना दिन्छु भनेकोले जानकारी लिन प्रहरी कार्यालय बोलाएको हो । साथै, श्रेष्ठ पत्रकार हो भन्ने पनि थाह नभएको उनले बताए । ‘उहाँले नै यो बिषयमा जानकारी दिन्छु भनेर फेसबुकमा लेख्नु भएकोले बोलाइएको हो, पत्रकार हो भन्ने थाह छैन । कुन मिडियामा काम गर्नु हुन्छ र?’ कपुरीकर्मीलाई एसपी केसीले प्रतिप्रश्न गरे,‘उनी आफैले म पत्रकार हुँ भनेको आधारमा पत्रकार भनिएको हो ।’

यता, नेपाल पत्रकार महासंघ १ नं प्रदेशका अध्यक्ष बिक्रम लुइटेलले भने श्रेष्ठलाई प्रहरी कार्यालयमा राखिएको र उनी सञ्चारकर्मी भएको बताए । यो बिषयमा प्रहरीसँग समन्वय भइरहेको पनि उनले बताए । ‘उनी पत्रकार नै हुन्, यो घटनाको बिषयमा थप बुझ्दैछौ,’उनले भने ।