धरान:मावली घर धरान आएकी एघार बर्षीय बालिकालाई जर्बजस्ती करणी गर्न प्रयास गरेको अभियोगमा धरानका एक वृद्ध पक्राउ परेका छन् ।

पीडित पक्षबाट प्रहरीलाई जानकारी आएपछि शनिबार राती करिब साढे ९ बजे धरान ८ का ६२ बर्षीय ध्रुव मस्केलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार पीडित बालिका इटहरी २०, तरहराबाट चैत २५ गते धरान ८ स्थित मावली आएकी थिइन् । बैशाख ६ गते मध्याह्न १२ बजे ध्रुव मास्केको पसलमा सामान किन्न गएको मौकामा मास्केले पीडित बालिकालाई पसलसँगै सुत्ने कोठामा बोलाएर जर्बजस्ती गर्न खोजको प्रहरीको भनाई छ ।

धरानका डिएसपी ढुण्डीराज न्यौपानको अनुसार आरोपित मास्केले पीडित बालिकालाई कोठामा बोलाएर संवेदनशील अंग छाम्ने, समात्ने गरेर जर्बजस्ती गर्न खोजेका थिए । त्यसपछि, पीडित बालिका भागेर आफ्नो घर गएको प्रहरीले जनाएको छ । यो घटनाबारे पीडित बालिकाले बैशाख २६ गते मात्र आफ्नी सानीआमालाई भनेकी थिइन् । त्यसपछि मात्र घटनाबारे प्रहरीमा खबर पुगेको हो । ‘मास्केलाई पक्राउ गरी जर्बजस्ती करणी उद्योगमा म्याद थप भइसकेको छ, आवश्यक अनुसन्धान र पीडितको मेडिकल जाँचलगायत अनुसन्धान हुदैछ,’डिएसपी न्यौपानेले भने ।