इटहरी:सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ मा प्याब्सन सुनसरीले एकीकृत बस्ती निर्माण गर्ने भएको छ । सप्तकोशी पीडित र सुकुम्बासीका लागि प्याब्सनले बस्ती निर्माण गर्न लागेको हो ।

एक समारोहबीच प्याब्सनले निर्माण गर्न लागेको नमूना बस्तीको आज आईतबार संघीय सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गरे । शिलान्यास समारोहमा बोल्दै उनले भने, ‘निजी क्षेत्रको लगानीमा सुकुम्बासीको हितको निम्ति बस्ती निर्माण गर्नु प्रशंसनीय कार्य हो । यो चाँडै सम्पन्न होस् ।’

रामधुनी नगरपालिकाले वडा नं. ८ मा एक बिगाहा सरकारी जमिन उपलब्ध गराएपछि दुई दर्जन पीडित परिवारका लागि प्याब्सनले नमूना वस्ती निर्माण गर्न लागेको प्याब्सनका प्रदेश १ सचिव सुमित थापाले बताए । उनले भने,‘हामीले करीब १ करोडको लागतमा पहिलो चरणमा २५ घर बनाउन लागेका छौ । बनाउँदै जाँदा अरु पनि धेरै हुन्छ, यो केन्द्रकै बजेटमा बनाउन लागिएको हो ।’ एउटा घरमा दुई कोठा, एउटा किचन र शौचालय निर्माण गरिने बताइएको छ ।

शिलान्यास कार्यक्रममा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले निजी विद्यालय एकढिक्का भएर सामाजिक काम गर्नुपर्ने बताईन् । निजी विद्यालयहरु एक आपसमा नै बाँझिएको उल्लेख गर्दै चौधरीले सबै निजी क्षेत्रको सहकार्यमा आम मानिसको भलाईका निम्ति काम गर्नुपर्ने बताइन् । कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिले तीनै तहका सरकार सक्रिय रहेको बताए । उनले निजी क्षेत्रको लगानीमा सुनसरीको विकट क्षेत्रका कोशी पीडित तथा सुकुम्बासी मानिसहरुका लागि घर बनाउँनु उल्लेख्य रहेको बताए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीले उक्त बस्ती निर्माण भईसकेपछि सामुहिक रुपमा चिल्ड्रेन पार्क निर्माण गर्ने बताए । उनले भने,‘हामीले बस्ती निर्माण गरिसकेपछि चिल्ड्रेन पार्क पनि निर्माण गर्नेछौं, हामीले पीडितहरुका लागि केही राहत होस् भनेर यो कामको सुरुवात मात्र गरेका हौँ, यसलाई निरन्तरता दिनेछौँ ।’