ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नक्साबिनै महानगरमा ३ हजार घर” शीर्षकको समाचार छापिएको छ । विराटनगर १ भट्टाचोकदेखि पूर्वतर्फ पर्ने परोपकार मार्गमा रुचिला लोहनी पन्तले नक्सा पास नगरिकन तीनतले घर निर्माण गरिरहेको भन्दै विराटनगर महानगरपालिकामा गत असोज २ मा उजुरी पर्यो । स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार नगरक्षेत्रमा कुनै पनि निजी तथा सरकारी घर, भवन निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नुपर्ने प्रावधान छ । तर लोहनीले ऐनको प्रावधान विपरित कित्ता नम्बर २७१२ मा पक्की घर निर्माण गरेकी थिइन् । महानगरपालिकाले तत्काल लोहनीको नाममा निर्माण कार्य रोक्का राखी कार्यालयमा उपस्थित हुन पत्र काट्यो । तर उनी गइनन्, बरु निर्माण कार्य जारी राखिन् । अहिले घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सेटब्याकको लागि सडकदेखि डेढमिटर छोडेर घर निर्माण गर्नुपर्ने हुन्छ तर लोहनीले त्यो पनि नछोडी घर बनाएको स्थानीयको आरोप छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कांग्रेस जनताले पत्याउने पार्टी बन्नुपर्छः पौडेल” शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई जनताले पत्याउने खालको पार्टी बनाउन आवश्यक रहेको बताएका छन् । यसका लागि काङ्ग्रेसभित्र व्यापक परिवर्तन आवश्यक रहेकोमा पौडेलको जोड छ । नेपाल महिला सङ्घको दुई दिने प्रशिक्षण कार्यक्रमको आइतबार विराटनगरमा उद्घाटन गर्दै पौडेलले भने, काङ्ग्रेसको अहिलेको जोड पार्टीप्रति जनताको विश्वास बढाउनेमा केन्द्रित हुनुपर्छ । उनले काङ्ग्रेसलाई नयाँ ढङ्गबाट अघि बढाउन अब ढिला गर्न नहुने पनि बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “भाषणमै सीमित छुवाछुतमुक्त राष्ट्र” शीर्षकको समाचार छापिएको छ । लामो समयदेखि जातीय उत्पीडनमा परेका दलित समुदायको मुक्तिका लागि भन्दै नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष पुगिसकेको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई विभेद र छुवाछुत मुक्त राष्ट्र घोषणा गरे । त्यसयता संविधान र ऐनमै व्यवस्था गरेरै दलितका पक्षमा धेरै कानुन पनि बने । तर व्यवहारतः लागू हुन नसक्दा छुवाछुतमूक्त राष्ट्र घोषणा भाषण र संविधानको कागजमै सीमित बनेको छ । व्यवहारमा संविधान र ऐनको व्यवस्था कार्यान्वयनमा नआउँदा उत्पीडित जातिको अवस्था उस्तै छ ।