विराटनगर: प्रदेश नं १ सरकारको तर्फबाट प्रदेश नं २ को बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि एक करोड रुपैया हस्तान्तरण गरिएको छ ।


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज एक करोड रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री राई आज २ नं प्रदेश राजधानी जनकपुरधाम पुगेर मुख्यमन्त्री राउतलाई भेटी चेक हस्तान्तरण गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए । सो घटना पछि प्रदेश १ को मन्त्रीपरिष बैठकले २ नं प्रदेश सरकारलाई पीडित तथा प्रभावितहरुलाई एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरेको थियो । सोही निर्णयअनुसार आज मुख्यमन्त्री राईले २ नं प्रदेश पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा १ नं प्रदेश सरकारलाई धन्यवाद दिएका थिए । प्रदेश १ का मुख्यमन्त्री राईले पनि विपतमा आआफनो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्ने धारणा राखे ।