धरान: धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म लक्ष्य अनुसार राजस्व संकलन भएको जनाएको छ ।

राजश्व तथा पर्यटन महाशाखाले सोमबार धरानमा पत्रकारहरुसँग भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष २०७५/०७६ को चैत्र मसान्तसम्म लक्ष्यको ८०.५३ प्रतिशत राजस्व संकलन गरिएको महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार हालसम्म १० करोड ७२ लाख ३२ हजार ७४३ रुपैयाँ कुल आम्दानी भएको छ । प्रदेश सरकारकासँग ढुङगा गिटी र विज्ञापन बाँडफाडबाट २ करोड १६ लाख १८ हजार २४० रुपैयाँ थप आय छ । चालु आर्थिक वर्षमा १६ करोड अनुमानित आम्दानी हुने लक्ष्य राखिएको छ । ढुङगा गिटीबाट १९ करोड ६९ लाख ८ हजार रुपैयाँ र विज्ञापन कर १९ लाख २० हजार २४० रुपैयाँ संकलन भए पनि यो प्रदेशसँग पनि बाँडफाट गर्नुपरेको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले आगामी वर्षको बजेटको तयारी थालिएको बताइन् । उनले दिबंगत मेयर तारा सुब्बाले धरानलाई पर्यटन विकासको लागि गुरु योजना बनाउने जनाए अनुसार आउने वर्षको बजेटमा गुरु योजनालाई समेत समेट्ने बताइन् । यसैगरी, धरानको बसपार्कको डिपिआर तयारी गर्ने काम भइरहेको बताउदै डिपीआर तयार गरेपछि प्रदेश सरकारले छट्याएको बजेटले काम अगाडी बढाउने बताइन् । धरान–२० मा रहेको साँगुरीगढीको संरक्षणको लागि योजना बनाइरहेको बताउदै धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै कसुर बाँकी नराख्ने पनि बताइन् ।

धरान सभागृहको मर्मत तथा पुर्ननिर्माण गर्न आगामी बजेटमा प्राथमिकतामा राखिने उनले बताइन् । आगामी वर्षको बजेट नीति तथा कार्यक्रमहरु बनाउन विज्ञहरुको टोली गठन गरिएको बताउदै विवादरहित बजेटको तयारी गर्न लागिएको पनि स्पष्ट पारिन् । ‘आगामी बजेटको नीति तथा कार्यक्रमको लागि विज्ञहरुको टोली गठन गरिएको छ ’ कार्यबाहक मेयरले भनिन् ‘विज्ञहरुको सुझाब, प्रतिपक्षि, सबै क्षेत्रसंगको छलफलपछि बजेट नीति तथा कार्यक्रम ल्याउने छौं ।’ उनले चुनावी घोषणापत्र अनुसार बजेट, नीति तथा कार्यक्रम बनाइने पनि उद्घोष गरिन् । घोषणापत्र देखाउदै उनले भनिन्,‘हामीले चुनाबताका जनताको घर–घरमा पुगेर जुन प्रतिबद्धा जनाएका थियौं, अब त्यही अनुसार बजेट विनियोजन गछौं ।’