ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “आफ्नै प्रेमी काल बनेपछि...” शीर्षकको समाचार छापिएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका ४ पञ्चमीकी एक किशोरीको आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ । १५ वर्षीय शितल योङहाङ आइतबार विद्यालयबाट घर फर्केपछि घरको काम गरेर बाहिर निस्केकी थिइन् । उनलाई सोहि दिन बेलुकी घर नजिकै धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा मृत भेटिएको थियो । उनको आफ्नै प्रेमी फल्गुनन्द २ पात्लेभञ्ज्याङका अन्दाजी २० वर्षीय पदम तामाङले साथी भगिरथ बास्तोलाको सहयोगमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर अनिलकुमार पौडेलका अनुसार शितलको हत्या गर्न सहयोग गर्ने बास्तोलालाई पक्राउ गरिसकिएको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “चन्द्रगढी वनद्वारा डेढसय रुख नष्ट” शीर्षकको अर्को समाचार पनि छापिएको छ । वैज्ञानिक वन व्यवस्थापन भन्दै झापाको एक सामुदायिक वनले १ सय ५४ थान रुख कटान गरेको छ । वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको चन्द्रगढी सामूदायिक वन उपभोक्ता समूह भद्रपुरले सालका रुखहरु कटान तथा सरसफाईको काम शुरु गरेको जनाएको छ । समूहले आफ्नो क्षेत्रको कुपन नम्बर ५ मा रहेका २ सय ९६ वटा रुखमध्ये १ सय ४४२ थान राम्रा तथा सालका माउ रुख राखेर बाँकी कटान गरिएको कोषाध्यक्ष अनुज खतिवडाले जनाए । २०७३ सालमा वैज्ञानिक वन व्यवस्थापन लागू गरेको सो वनमा यसपटक सखुवाका रुख कटान गर्नुका साथै सोही स्थानमा कटान गरिएको ४ दशमलव ३९ हेक्टर क्षेत्रफलमा नयाँ विरुवा लगाउने, सरसफाई तथा घेराबाराको काम थालिएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पुरा भयो बत्ती बाल्ने सपना” शीषकको समाचार छापिएको छ । भोजपुर नगरपालिका ५ बोखिमका भीम राईको घरमा रात परेपछि अध्याँरोले साउँथ्यो । छिमेकीको घर बिजुली बत्तीको झिलिमिली हुँदा पनि उनको घरमा भने टुकी बत्तीको साहारामा बस्नुपथ्र्यो । गाउँमा विद्युत् विस्तार भएको वर्षौ भइसक्दा पनि उनको घरमा भने अध्यारो कायम नै थियो । आर्थिका अवस्था कमजोरका कारण उनले घरमा बिजुली जोड्न सकेका थिएनन् । तर वडाबाट सिफारिस लिएर प्राधिकरण पुगेपछि प्राधिकरणले गत वैशाख दोस्रो हप्ता नै घरमै निः शुल्क मिटरबक्स जडान गरिदियो । महँगो मिटरबक्स किन्न नसक्ने विपन्न परिवारलाई निशुल्क मिटरबक्स वितरण गर्न थालिएको छ । नेपाल विधुत प्राधिकरणले उपलब्ध गराएको निशुल्क मिटरबक्स पाएपछि विपन्न परिवारको वर्षौको सपना पुरा भएको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “खुला दिसामुक्त भएन विराटनगर” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपालिका हालसम्म खुल्ला दिसामुक्त घोषना हुन सकेको छैन । नेपाल सरकारको लक्ष्यभन्दा एक वर्ष ढिलो हुन लाग्दासमेत महानगर खुल्ला दिसामुक्त क्षेत्र हुन नसकेको हो । विराटनगर महानगरपालिकाका १९ वडा मध्ये २ वटा वडा खुला दिसामुक्त घोषणा हुन बाँकी छ । सरकारले सन् २०१८ ,भित्र नेपाललाई खुला दिसामुक्त बनाउने लक्ष्य राखेको थियो । तर सन् २०१९ को आधा वर्ष बित्न लाग्दासमेत महानगरले सो लक्ष्य पूरा गर्न सकेको छैन ।