ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडासदस्य विष्णु श्रेष्ठ बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

लामो समय देखी फरारको सूचिमा रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोममबार ओखलढुङ्गाबाट पक्राउ गरेको हो । लिखु गाउँपालिका–३ बाट निर्वा्चित वडा सदस्य श्रेष्ठविरुद्ध बलात्कारको आरोप लागेको थियो । स्थानीय एक युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उनीविरुद्ध उजुरी दर्ता भएको थियो । निर्वा्चित वडा सदस्य श्रेष्ठ आफैले सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै चैत ७ गते बलात्कार गरेको उजुरी चैत ९ गते परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेकी थिइन् । आरोपी श्रेष्ठका छोरा राजु श्रेष्ठले लामो समयसम्म सम्पर्क्विहीन भएका बुबालाई भेटाएपछि मुद्धाको बारेमा छलफल गराउनका लागि ओखलढुङ्गा ल्याउदै गर्दा प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको बताए ।

आरोपी श्रेष्ठ पक्राउ परेको विषयमा जिल्ला प्रहरी कार्यालयले मंगलवार नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।