धरान : धरानमा पुनः डेंगुको प्रकोप फैलिएपछि धरान उपमहानगरपालिकाले डेंगु प्रभावित क्षेत्रमा औषधी छरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटै वडा १५ का तीन जना बालबालिकामा डेंगु देखिए लगत्तै अर्का एक व्यक्तिमा पनि डेंगुको संक्रमण देखिएको छ । धरानको विजयपुर अस्पतालमा अत्याधिक ज्वारो आएर उपचार गराउन पुगेका ३९ बर्षीय ती व्यक्तिलाई समेत डेंगुको संक्रमण पाइएपछि उपमहानगरले औषधी छर्ने काम गरेको हो । ती व्यक्त पनि धरान १५ कै हुन् ।

अत्याधिक गर्मी बढेसँगै धरानमा डेंगु रोगको संक्रमण बढेपछि धरान उपमहानगरपालिकाले बीपी प्रतिष्ठानसँग समन्वय गरेर प्रभावित क्षेत्रमा औषधी छरेको हो । धरान उपमहानगरपालका स्वास्थ्य विभागका प्रमुख रामबाबु यादवका अनुसार धरान १५ को पुष्पलाल मार्ग, पिण्डेश्वर चौक, धुवज्योतिपथ, देवकोटा चौक लगायतमा औषधी छर्किएको बताए । उनले बीपी प्रतिष्ठानको साधन प्रयोग गरेर धरान उपमहानगरपालिकाल नै औषधी खरिद गरी छर्ने काम गरिरहेको बताए ।

हिजो मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका धरान १५ कै तीनजना बालबालिकामामा डेंगु संक्रणम भएको पुष्टि भएको थियो । बीपी प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले औषधी छर्ने कामसँगै सर्वसाधारणमा जनचेतनाको पनि खाँचो भएको बताए । डेंगुबाट बच्ने उपायको विषयमा सर्वसाधारणलाई जानकारी गराउनु जरुरी भएको उनको भनाई छ ।