इटहरी : ‘जगतकै अत्यन्त दुर्लभ तस्वीर, त्यही पनि हाम्रै छिमेकी जिल्ला मोरङको बिराटनगर–धरान सडक खण्डको तस्वीरमा देखिएजस्तो विकास सायदै संसारका कुनै पनि मुलुक वा स्थानमा देख्न पाईदैन होला,’तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले फेसबुकमा एउटा तस्वीर राखेर स्टाटस लेखे ।

सडकको बीचमा बिजुलीको पोल रहेको र यसलाई सडक विभाग, नेपाल विद्युत प्राधिकरण र ठेकेदारले हटाउन पहल नगरेकाले उक्त तस्वीर थियो । उनले सडक विस्तारको काम हुनु सकरात्मक भएपनि बिद्युतको पोल हटाउन ढिलासुस्ती भईराखेकोप्रति दुःख प्रकट गरे । सडकको बीचमा विजुलीको पोल हुने गरी सडक विस्तार गर्दा धेरै जोखिम हुन भन्दै उनले त्यस्तो कार्य तत्काल रोक्नुपर्ने पनि माग गरे । यसतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै उनले भने,‘यसले ठूलै दुर्घटना निम्त्याउन सक्छ, यसमा सबै पक्ष गम्भीर हुन जरुरी छ ।’ सडक विस्तारको नाममा हत्तारमा रुख काट्ने तर बीच सडकमा भएको पोल हटाउन पहलकदमी नलिने भन्दै उनले खेद व्यक्त गरे ।

इटहरी ६ का अगुवा देवान किराँतीले पनि सुरुमा सडकको पोल हटाउनुपर्नेमा जोडदिए । कवि समेत रहेका किराँतीले भने,‘अहिले इटहरी चौकमा सडकको काम नै भएको छैन, पहिला बिजुलीको पोल सार्ने काम गर्नुपथ्र्यो ।’ उनले होमपाईपको माध्यमबाट बिजुली र टेलिफोनको सेवा प्रवाह गर्नु उपयुक्त रहेको बताउँदै भने,‘पहिला बिजुलीको पोल हटाउने हो कि सडक किनारमा रहेको रुख रु’ उनका अनुसार अहिले बिजुलीको पोल हटाउने काम गरेर ६ महिनापछि सडक निर्माण गर्ने समयमा रुख हटाउँदा उपयुक्त हुने सुनाए ।
अर्का युवा अभियन्ता सम्राट थापाले भने अलिक भिन्न मत राखे । उनले भने,‘केही समय अगाडि वडा नं। ६ ले ब्रुमर ल्याउने समाचार आएको थियो, त्यो भन्दा पनि रुख उखाल्ने मेसिन आउनुपथ्र्यो ।’ अब बर्खायाम लाग्न सुरु हुन लागेकाले सडक भत्काउन सुरु गर्नु त्रुटि रहेको औल्याए । बर्खायाम लाग्न लागेको समयमा इटहरी भत्किएर काम नहुने संकेत गर्दै थापाले भने,‘रुख काटेर विकास हुँदैन, अस्तब्यस्त पोल सडकको बीचमा रहेको छ, यसले इटहरी सुन्दर हुन्छ ?’
यता इटहरी ६ का वडाध्यक्ष दीपक गौतमले संघीय सरकारको मातहतमा राजमार्ग रहेको कारण सडक विस्तारको काममा आफुहरुसँग समन्वय नभएको बताए । उनले भने,‘हामीसँग समन्वय नै छैन, जानकारी नै छैन, पत्र पनि पठाएन ।’स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने भएपनि त्यसो नभएको भन्दै उनले आपत्ति पनि जनाए । ‘विकास निर्माणमा हामी सहयोग गर्न तयार छौ । समन्वय गरेर काम गर्दा सहज हुन्छ,’उनले भने । अहिले ६ लेन सडक बिस्तारको क्रममा केही सातायता इटहरी चौकमा काटिएका रुख कसले काटेको भन्ने नै आँफूलाई थाहा नभएको वडाध्यक्ष गौतमले बताए । उनले भने,‘वनले काटेको भन्ने पनि छ, तर कसले काटेको भन्ने दोधार छ, हामीलाई एउटा पत्र र जानकारी समेत आएको छैन ।’