धरान: सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले धरान मृत शहर नभै विकास र समृद्धिको सम्भावना बोकेको शहर भएको बताएका छन् ।

प्रज्ञा प्रतिष्ठानको बाल नाटक महोत्सव २०७६ लाई सम्बोधन गर्दै सांसद राईले धरानलाई मृत शहर हुनबाट जोगाउन आफुहरु लागिपरेको बताउदै अब धरान विकास र समृद्धिको शहर हुने जिकिर गरे । धरान सबैकुराले भरिपुर्ण भएको भन्दै उनले अब सबै जनप्रतिनिधिहरु मिलेर सडक सञ्जाल विस्तार गरिरहेको पनि बताए । यसले धरानलाई पुनः केन्द्रकोरुपमा स्थापित गरेर सुस्ताउदै गएको व्यापारलाई पुनस्थापित गर्ने सांसद राईको भनाई थियो । ‘धरान मृत शहर होइन, सुनसरी क्षेत्र नं १ मृत शहर हुदैन, यो त परिपुर्ण शहर हो,’उनले भने,‘यहाँ महत्वपुर्ण शैक्षिक संस्थाहरु छन्, निजी क्षेत्रको पनि छन् । धरान प्रदेश नं १ कै महत्वपुर्ण शहर हो ।’

आफु धरानलाई सडक सञ्जालले जोड्ने अभियानमा रहेको बताउदै सांसद राईले धरानलाई छिमेकी जिल्लाको व्यापारिक केन्द्रकोरुपमा स्थापित गर्ने लक्ष्य राखिएको पनि बताए । सेउती, सर्दु, पटनाली, सेहरा, विष्णुपादका क्षेत्रमा जोड्न धमाधम पुल निर्माण भइरहेको र सडक पनि विस्तार भइरहेकोले धरानलाई चारैतिरबाट अब सडक सञ्जालले जोडिने उनले बताए । जोगवनी किमाथांका राजमार्ग र मदन भण्डारी राजमार्ग पनि धरानबाटै भएर जाने भएकोले धरान मृत शहर नहुने उनको भनाई थियो । ‘धरान भएर ६ लेनको सडक जादैछ, यसलाई ४ लेन बनाएर विस्तार गर्ने वा सेउती करिडोर बनाएर लैजाने भनेर छलफल हुदैछ । मदन भण्डारी राजमार्ग पनि धरान भएरै जादैछ,’उनले भने,‘धरान शिक्षा स्वास्थ्य, कला, साहित्यसँगै भौतिक पुर्वाधारले पुर्ण शहर हो, मृत शहर होइन ।’