धरान: स्नुकर खेलको प्रर्वद्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले आजदेखि धरानमा ६ दिने राष्ट्रियस्तरको प्रथम खुल्ला स्नुकर प्रतियोगिता शुरु हुदैछ ।

धरान ९, देउरालीस्थित चेल्सी स्नुकर हाउसले आयोजना गर्ने प्रतियोगिता जेठ ६ गतेसम्म हुनेछ । यो प्रतियोगिताको पुरस्कार राशी स्नुकर प्रतियोगितामा हालसम्मकै ठुलो भएको आयोजकको दाबी छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५ हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेता हुने खेलाडीले नगद ५५ हजारसहित ट्रफी पाउनेछ । यस्तै, हाइयेष्ट ब्रेक गर्ने खेलाडीले नगद २० हजार ५ सय पुरस्कार पाउने आयोजक हाउसका सञ्चालक कुन्दन तामाङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा कुल ५१ जना खेलाडीहरु सहभागी हुनेछन् । धरान, इटहरी, विराटनगर, विर्तामोड, हेटौडा, पोखरा, काठमाण्डौंलगायत विभिन्न ठाउँबाट खेलाडीहरु प्रतियोगितामा सहभागी हुदैछन् । ‘धरानमा पनि स्नुकर खेलाडीहरु थुप्रै छन्, तर नियमितरुपमा प्रतियोगिता नहुँदा उनीहरु राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरको खेलमा आफ्नो प्रतिभा देखाउन पाइराखेका छैनन्,’आयोजक तामाङले भने,‘यो प्रतियोगिता ती खेलाडीहरुलाई आफ्नो खेल प्रतिभा देखाउने अवसरमा पनि हो ।’

यो प्रतियोगिता नेपाल विलियार्ड स्नुकर तथा पुल संघमा आवद्ध भएर चेल्सी हाउसले आयोजना गरेको हो । स्नुकरलाई नेपालमा पनि खेलकोरुपमा मान्यता दिइएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रतियोगितामा नेपालबाट पनि खेलाडीहरु भाग लिन जाने गरेका छन् । धरानमा पनि थुप्रै खेलाडीहरु छन्, तर उचित मौकाको अभावमा उनीहरु धरानमै सिमित छन् । ‘हरेक बर्ष नै यो प्रतियोगिता गराउने योजना छ, राम्रा खेलाडीलाई धरान बाहिर र अन्र्तराष्ट्रिय प्रतियोगितामा पनि जान सक्ने गरी संघसँग समन्वय पनि गछौं,’तामाङले भने ।

प्रतियोगितामा कुल ७ लाख ५ हजार ५ सय खर्च हुने आयोजकको अनुमान छ । यो खर्च खेलाडीहरुको दर्ता शुल्क २ हजार ५ सय, सहप्रायोजकहरु, सहयोगी व्यक्तिहरुबाट सहयोगमार्फत जुटाइएको आयोजकको भनाई छ । प्रतियोगिताको पहिलो चरणका खेलहरु बेष्ट अफ थ्रीमा हुनेछ भने दोस्रो चरणका खेलहरु बेष्ट अफ फाइभमा हुनेछ । सेमीफाइनल खेल बेष्ट अफ सेभेन र फाइनल खेल बेष्ट अफ इलेभेनमा हुने आयोजकले जनाएको छ । केही महिनाअघि धरानमा सम्पन्न भएको स्नुकर प्रतियोगिता धरान च्याम्प्स्को विजेता खेलाडी दोर्जे पाख्रिनले स्नुकर प्रतियोगिताहरु आयोजना हुनु आफुजस्ता खेलाडीहरुको लागि ज्यादै खुशीको कुरा भएको प्रतिक्रिया दिए । ‘प्रतियोगिताले खेलाडीहरुले अवसर पाउछन्,नयाँ खेलाडी पनि उत्पादन हुन्छ,’उनले भने ।