झापा : झापाको गौरादह बेला बेला विभिन्न बिषयमा चर्चामा आउने नगरपालिका हो ।

कहिले नगरका कर्मचारीको विषयले चर्चा त कहिले मेयर र उपमेयरबिच बोलचाल बन्द भएको विषयले निक्कै चर्चामा आउने गरेको छ यो नगरपालिका । हुन त देशकै हाईप्रोफायलहरुको गाउ हो गौरादह । देशकै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रपनि हो गौरादह । अझ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रीको गृह नगर, संघीय अर्थ मन्त्री डा. युवराज खतिवडाको गृहनगर हो गौरादह अनि महान्याधिवक्ताको गृहनगरपनि हो गौरादह । तर महान्याधिवक्ता सहित देशकै हाईप्रोफायल भएकाहरुको नगर गौरादहमा एक व्यवसायी आमरण अनसनमा छन् । गत वैशाख २७ गतेदेखि यामबहादुर दाहाल गौरादह बजारको खुल्ला स्थानमा आमरण अनसनमा बसेका हुन् ।
दाहालले २०७३ साल चैत्र १७ गते गौरादहकै सिर्जना दाहाललाई दिएको १६ लाख ७५ हजार र त्यसपछिका अन्य कारोबारसहित गरेर ३७ लाखभन्दा बढी रकम लिन बाँकी रहेको सो रकम अहिलेसम्म नपाएको भन्दै उनी न्यायका लागि आमरण अनसनमा छन् ।
बैंकमार्फत घर धरौटी राखेर दिएको नगद १६ लाख ७५ हजार, २०७४ साल साउन १९ गते गोविन्द तिवारीमार्फत् सुन राखेर ८२ हजार ५ सय, सोही वर्षको साउन २५ गते कमला नेम्वाङको जग्गा धरौटी राखेर ५० हजार, त्यसपछि दाहालले पुनः नगद ९५ हजार र दाहालको किनारा पसलबाटसमेत २१ हजार ४ सय ६५ सहित जम्मा सावाँ मात्र २६ लाख ७२ हजार ९ सय ६५ रुपैयाँ घिमिरेले तिर्न बाँकी रहेको दाहालले बताए । आफ्नो घर नै घरौटीमा राखेर ऋण दिएको तर अहिलेसम्म कुनै रकम नतिरेपछि आफ्नो घर बिक्री गरेर तिर्दा अहिले सडकको बास भएको दाहालको भनाइ छ ।
पटक–पटक गरी दिएको सावाँँ–ब्याजसहित बढेर ३७ लाख रुपैयाँ तिर्ने माग गर्दा दिन नमानेपछि आफ्नो घर नै लिलाम हुने अवस्थामा पुगेकोले घर बिक्री गरेर बैङ्कको ऋण तिरेको उनले बताए । करिब ४० लाख मूल्याङ्कन भएको ९ धुर जग्गासहितको घर बैङ्कमा २० लाख रुपैयाँमा धितो राखिएको र पछि २४ लाखमा घर बिक्री गर्दा बैङ्कको ब्याजसहितको ऋण चुक्ता गरेको उनले बताए ।
दाहालले नगरपालिकाको न्यायिक समितिबाट न्याय नपाएपछि आफू सदस्य रहेको पेशागत सङ्घमा निवेदन दिएपछि गौरादह उद्योग वाणिज्य सङ्घले नगरपालिकामा दोहोरो छलफल गराउन पटक–पटक माग गरेको उद्योग वाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईले बताए ।
राईले न्यायिक समितिमा यस विषयमा छलफल भएको तर निकास ननिस्केपछि अनसन बस्न बाध्य दाहाललाई न्याय दिलाउन चरणबद्ध आन्दोलनका कार्यक्रम सर्वजनिक गरिएको बताएका छन् । कार्यक्रम अन्तर्गत आज गौरादहको डिपु चोकमा एकघण्टा चक्काजाम गर्ने र भोलि गौरादहका सबै सङ्घ–संस्था र यातायात अनिश्चितकालका लागि ठप्प पार्ने राईले बताए ।

अदालत जान न्यायिक समितिको निर्देशन

नगरपालिकाको न्यायिक समितिले पटक–पटक दोहोरो छलफल गराएको दाबी गरेको छ । ‘तर छलफल दुवैपक्षलाई चित्त नबुझ्दो भएपछि हामीले जिल्ला अदालतमा गएर मुद्दा दर्ता गराउनू भनेका छौं’ न्यायिक समिति संयोजक गीता भेट्वालले भनिन, ‘दाहालपक्षबाट घिमिरेको जग्गा रोक गर्न माग गरिएको छ । तर यो काम हाम्रो अधिकारभित्र नरहेकोले अदालत जान हामीले दुवै पक्षलाई भनेका छौं ।’

Gita-katwal

कपुरीकर्मीसँग कुरा गर्दै भेटवालले आफुहरुले सक्दो प्रयास गर्दापनि केहि सिप नलागेपछि न्यायका लागि बाकि ढोका खुल्ला गरिदिएको बताईन । तर दाहाल आफैले न्यायिक समिति र जनप्रतिनिधीलाई अपशब्द र बिभिन्न आरोप लगाउदै हिडेको भन्दै दुख ब्यक्त गरिन ।

पीडक भनिएकी सिर्जना हाम्रो सम्पर्कमा

यसैबिच पीडक भनिएकी गौरादहकै सिर्जना घिमिरे हाम्रो सम्पर्कमा आएकी छन् । उनले आर्थिक लेनदेनको बिषयमा मुख खोल्दै आफु उल्टै अन्यायमा परेको गुनाशो गरेकी छन् ।
बिभिन्न सञ्चार माध्यमहरुमा एकतर्फी समाचार आएको भन्दै उनले भनिन्, मेरो श्रीमानले बिदेशबाट पठाएको १६ लाख ७५ हजार रुपैया दाहालाई दिएको र पटक पटक गरि दाहालबाट आफुले त्यो रकम लिएको तर पछि दाहालले त्यो रकम ऋण लगेको भन्दै हिडेपछि आफुले ईज्जतको डरले गहना बेचेर र सर–सापट खोजेर दाहाललाई उल्टै १७ लाख रुपैयाँ तिरे । तर अहिले उल्टै पैसा पाउनु छ भन्दै अनशनको नाटक गरिरहेको छ । आफु र आफ्नो परिवारको ईज्जत माथि धावा बोलेको भन्दै सिर्जनाले आफु न्यायका लागि उल्टै भौतारिईरहेको बताईन । अदालतले पैसा तिर्नु भनेर फैसला गरेमा आफु पैसा तिर्न तयार रहेको बताउदै उनले भनिन्, कानूनी राज्य हो प्रमाण त हेर्ला नि अदालतले । प्रमाण पुर्याएमा आफु कसैको एक रुपैयापनि नखाने उनको भनाइ छ ।