इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले बर्तमान केपी ओली नेतृत्वको सरकार सस्तो प्रचारमुखीमा मात्र केन्द्रीत रहेको बताएका छन् ।

इटहरीमा बुधबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै महतले भने,‘सरकार सस्तो चर्चा मात्र कमाउन खोज्छ, प्रचारमुखी मात्र भएको छ ।’ सरकार प्रजातन्त्र बिरोधी भएको बताउँदै उनले भने, ‘सरकारले झुटो बोलेर प्रजातन्त्र सँगै लोकतन्त्र पनि खतरामा पारेको छ । सरकार अधिनायकबाद तर्फ उन्मुख छ, यो लोकतन्त्रको लागि खतरा हो ।’

सरकारले संसदमा प्रेस काउन्सिल सम्बन्धि बिधेयक पेश गरेको स्मरण गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महतले भने,‘सरकारले अहिले प्रेस स्वतन्त्रतामाथि संकुचित बनाउने काम गरेको छ, त्यसमा हामी शशक्त बिरोध गर्छौँ ।’ प्रेस स्वतन्त्रता प्रजातन्त्रको अभिन्न अंग रहेको र नेपाली कांग्रेस जहिल्यै पनि डेमोक्रेसीको लागि लड्ने पार्टी भएको उनले दाबी गरे ।

केही दिन अगाडि राष्ट्रपति बिद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा प्रस्तूत गरेको अंशमा ‘मेरो सरकार’ भनेकोप्रति आपत्ति जनाउँदै डा. महतले भने, ‘नीति तथा कार्यक्रममा आत्मप्रसंसामा मात्र गरिएको छ, सरकार आत्मप्रशंसामा मात्र सीमित भएको छ । नीति चुस्त भाषामा लेखिनुपर्ने भएपनि निबन्ध लेखिएजस्तो छ, यो अव्यवहारिक भयो ।’

संविधान कार्यान्वयनको अवस्था संक्रमणमै रहेको उल्लेख गर्दै उनले भने, ‘अहिलेको सरकारको मूल काम भनेको संविधान कार्यान्वयन गर्नु हो, अहिले स्थानीय र प्रदेश सरकारमा प्रशासकीय र प्राविधिक क्षमता नै छैन ।’ सरकारले प्राविधिक अध्ययन नै नगरीकन प्रचारमुखी भएको आरोप लगाउँदै उनले बिना तयारीका कुरामा मात्र सरकार केन्द्रीत रहेको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकुमार यादबले ओली सरकारका कारण जनतामा नैराश्यता छाएको बताए । उनले भने, ‘यो सरकारले मुलुकको राजनीतिक अवस्था, धार्मिक अवस्था, आर्थिक अवस्थामाथि प्रहार गर्दै गएको छ, यसले जनतामा नैराश्यता छाएको छ ।’

कम्युनिष्टको चरित्र प्रति कांग्रेसले भत्र्सना गर्ने उनले बताउँदै प्रेस स्वतन्त्रताको बिरोधमा अहिले सरकार लागेकोप्रति इङ्गित गर्दै उनले बर्तमान सरकारको भ्रष्टाचार र नकारात्मक कुरा बाहिर आउन थालेकाले सरकार मिडियाप्रति डराएको बताए ।

त्यस्तै, पूर्व सांसद रामहरी खतिवडाले दुईतिहाईको सरकार बनेपछि देश अफ्ट्यारो अवस्थामा गएको बताए । उनले भने,‘अनेकतामा एकता ढाल्ने गरि काम गर्नुपर्ने भएको भएपनि सरकारले अहिले बोल्ने मात्र काम ग¥यो, काम गरेन ।’

पूर्ण प्रेस स्वतन्त्रता संविधानमै लेखिएको भएपनि सरकार संविधान विरोधी काम गरेको बताउँदै खतिवडाले भने,‘हामी यसको घोर आपत्ती जनाउँदै त्यो संविधान बिरोधी बिधेयक रहेकाले त्यसलाई तुरुन्त फिर्ता लिन माग गर्दछौँ ।’जनताको पक्षमा काम नगरेकोप्रति आपत्ती जनाउँदै सरकारले गरेको नराम्रो कामको भण्डाफोर गर्दै जाने उनले बताए ।