धरान: सञ्चारकर्मीको ध्यान अहिले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकमाथि नै केन्द्रीत रहेको छ । सञ्चारमाध्यमलाई कुन्ठित बनाउन ल्याएको विधेयक खारेजीको मागसहित आन्दोलनमा उत्रिएका सञ्चारकर्मीहरु कुनै पनि कार्यक्रममा अहिले यसैमाथि छलफल र बहस हुने गरेको छ ।

यसैक्रममा महिला पत्रकार मनिता चाम्लिङले निरन्तर प्रकाशित गर्दै आएको दिव्यरोशनी साप्ताहिकको १५ औ बार्षिकोत्सवमा समेत पत्रिकारको शुभकामनासहित यही विषयले प्राथमिकता पायो । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेलले प्रमुख अतिथि रहेको कार्यक्रममा पत्रकार जनकऋषि राईले कार्यपत्र प्रस्तुत गर्दै सरकाले ल्याएको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताए । महासंघ प्रदेश नं. १ का अध्यक्ष लुइटेलले सरकारले ल्याएको विधेयकप्रति नेपालका पत्रकारहरु सशंकित हुदै आन्दोलनमा उत्रिएको बताए । उनले वहुमतको दम्भ पालेको यो सरकारले विधेयक पास गर्दै प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाएर पत्रकारलाई १० लाखसम्म जरिवाना गर्ने व्यवस्थाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए ।

सो अवसरमा अग्रज पत्रकार हर्ष सुब्बाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारको ठूलो भूमिका रहेको बताउदै यो विधेयक पास भए नेपालमा प्रजातन्त्र नै नभएको आभाष सर्वसाधारणमा हुने बताए । उनले प्रेस जगतको घाटी निमोट्ने गरी प्रेस स्वतन्ततामाथि अंकुश लगाउनु सरकार निरकुंशतर्फ उन्मुख भएको आरोप लगाए । यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले सरकारले संसदमा पेश गरेको विद्येयक खारेज गर्नुपर्ने माग राखे । नेपाल पत्रकार महासंघ सुनरीका संस्थापक अ्ध्यक्ष गिरीराज अधिकारीले यो विधेयक पास भए राणाशासन, पञ्चायतको जस्तो प्रेसमा अंकुश लगाउने काम हुने बताए ।

कार्यपत्र प्रस्तोता राईले मिडिया काउन्सिल सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा नेपालको संविधान २०७२ मा प्रेस स्वतन्ताका विषयमा उल्लेख गरेको भएपनि अहिले दुई तिहाइ कम्युनिस्ट सरकारले विद्येयक ल्याएर सञ्चार क्षेत्रलाई कुन्ठित बनाउने काम गरेको उल्लेख गरिएको थियो ।

पत्रकार र समाजिक अभियन्तालाई सम्मान

IMG_4733

दिव्य रोशनी साप्ताहिककी सम्पादक/प्रकाशक मनिता चाम्लिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजमा अग्रणी भूमिका निर्वाह गर्ने महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई र सेवक अभियानका अभियान्ता राजीव हलुवालाई सम्मान गरिएको थियो । यसैगरी पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्पादक प्रकाशक मनिता चाम्लिङ्गको स्व बुबा र दाजुको नामबाट अन्नपूर्णपोष्ट दैनिकका रत्न आचार्य, प्रवोध साप्ताहिककी प्रकाशक जमुना श्रेष्ठ र महाप्रतिवाद साप्ताहिकका प्रधान सम्पादक तारा लामगादेलाई जनही ५ हजार ५ सय ५ नगदसहत सम्मान गरिएको थियो ।