ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “खाजा खाँदा ८ विरामी, २ गम्भीर” शीर्षकको समाचार पनि छापिएको छ । पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा खाजा खादा आठजना विरामी परेका छन् । वैशाख ३० गते स्थानीय जस्मिता फियाकको घरमा सञ्चालन भइरहेको तीन महिने ढाका बुनाई तालिममा सहभागी महिलाहरुले खाजा खाएका थिए । खाजा खाएपछि उनीहरु विरामी परेको बताइएको छ । विरामी पर्नेमा सोही स्थानकी १७ वर्षीय रेनुका दास, १९ वर्षीय विष्णु विक, ९ वर्षकी मुना लिम्बु, २३ वर्षीय मनकुमारी फियाक, २२ वर्षीय लक्ष्मी लिम्बु र बाँकी एक जना रहेका छन् । उनीहरुमध्ये लक्ष्मी र मनिषा सिकिस्त अवजस्थामा रहेका छन् । उनीहरुको जिल्ला समर्पित अस्पतालमा उपचार भइरहेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “८ केजी गाँजा बरामद” शीर्षकको समाचार छापिएको छ । धनकुटा जिल्लाको सहिदभुमि गाउँपालिका २ अखुवाको जंगलबाट मंगलबार प्रहरीले विशेष सुराकीका आधारमा ८ केजी गाँजा बरामद गरेको छ । जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा स्याउलाले छोपिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “प्रहरीले पेस्तोल हरायो” शीर्षकको समाचार छापिएको छ । झापा जिल्ला कारागारको सुरक्षामा खटिएका प्रहरीले पेस्तोल हराएका छन् । प्रहरीको इटलियन पेस्तोलसहित त्यसमा लाग्ने १४ राउण्ड गोली पनि हराएको छ । हतियारसंगै गोली कहिले हराएको भन्ने प्रहरीलाई समेत यकिन छैन । कारागार सुरक्षाका प्रमुख सई नरेश आचार्य विदामा भएका बेला हतियषर हराएको हो । उनले असई किरण सिंहलाई काज दिएका थिए । प्रहरीको रेकर्ड अनुसार जवान कुमार भोटेलाई हतियार बुझाएको देखिए पनि विहान हतियार नभेटिएको प्रहरी स्रोतको दाबी छ । हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले छानविन समिति बनाएको छ । त्यसमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र छन् ।