धरान: नेपालको सबैभन्दा ठुलो धनराशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा धरानका एमेच्योर युवा गल्फर शुक्रबहादुर राई च्याम्पियन भएका छन् ।

बिहिबार पार ७२ को गोकर्ण गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा शुक्रले एमेच्योरतर्फको मात्र होइन, प्रोफेस्नलतर्फको स्पर्धाको उपाधि समेत हत्याए । एमेच्योर र प्रोफेस्नल दुवै स्पर्धाको उपाधि हत्याएका शुक्रले समग्रमा ११ अण्डर २७७ स्कोर बनाए । पहिलो दिन २ ओभर ७४ को स्कोर गरेका शुक्र अन्य खेलाडीभन्दा ६ स्ट्रोकले पछि थिए । तर, दोस्रो, तेस्रो र चौथो दिन उत्कृष्ट पुनरागमन गर्दै दुवै स्पर्धातर्फको उपाधि जित्न सफल भए । उनले दोस्रो दिन ६ अण्डर ६६, तेस्रो दिन २ अण्डर ७० र आज चौथो दिन ५ अण्डर ६७ स्कोर बनाएका थिए ।

यो सफलता प्राप्त गर्ने शुक्र पहिलो नेपाली एमेच्योर खेलाडी हुन । यसअघि उनले सुर्य नेपाल ईस्टर्न ओपनमा पनि एमेच्योर र प्रोफेस्नल दुवैको उपाधि जितेका थिए । एमेच्योर खेलाडीले टुरको प्रमुख उपाधि जित्नु नै ठुलो सफलता हो । अनि सिजनकै सर्वाधिक ठुलो प्रतियोगितामा ४० प्रो गल्फर र १९ एमेच्योरलाई जिल्याउदै च्याम्पियन बन्दा नेपाली गल्फ तरङ्गीत हुनु स्वभाविक नै हो ।'मेरो जिवनको यो अविष्मरणीय क्षण हो, म एकदमै खुशी छुँ,'उपाधि जितेपछि शुक्रले भने ।

sukra-bdr-winner

शुक्रले उपाधि जिते पनि उनी एमेच्योर खेलाडी भएकोले नगद पुरस्कार भने पाएनन् । उनीसँग एक स्ट्रोकले पछि परेका व्यावसायिक गल्फर भुवन नगरकोटी समग्रमा १० अन्डर २७८ को प्रदर्शन गर्दै व्यावसायिकतर्फ प्रथम भए । उनले ट्रफी गुमाए पनि २ लाख ३० हजार रुपैयाँ जिते । टुरमा समग्रमा ६ लाख ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका भुवन नगरकोटी नयाँ नम्बर १ गल्फर बने । व्यावसायिकतर्फ दोस्रो स्थान हासिल गरेका विकास अधिकारीले १ लाख ४० हजार रुपैयाँ पाए ।

शुक्रले गएको सुर्य नेपाल इष्र्टन ओपन गल्फ प्रतियोगितामा पनि एमेच्योर र प्रोफेस्नल दुवै उपाधि जितेर इतिहास रचेका थिए । धरान गल्फ क्लबका सचिव जितेन्द्र राई शुक्रले दुर्लभ सफलता हात पारेको प्रतिक्रिया दिए । 'अहिलेको समयमा शुक्र जस्तो खेलाडी जन्मन कठिन छ, पहिलो दिन ६ स्ट्रोकले पछि परेको खेलाडी उत्कृष्ट पुनरागमन गर्दै दुवै उपाधि जित्नु इतिहास बनाउनु हो,'उनले भने,'यस्तो सफलता जो कोहीले पाउन कठिन छ ।'

प्रतियोगितामा ४० व्यावसायिक र २० एमेच्योर गल्फरसहित कुल ६० जनाले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु पोद्दार, मार्केटिङ विभागका उपाध्यक्ष दिप्रा लहिरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र एनपीजीए सल्लाहकर घनश्याम थापा लगायतले पुरस्कृत गरे ।