धरान:नेपाली कांग्रेसको राष्ट्रिय जागरणको अभियानले जनता र कार्यकर्तामा उत्साह ल्याएको कांग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताएका छन् ।

नेपाली कांग्रेस, धरान–२ ले आयोजना गरेको जागरण सभामा प्रमुख अतिथि एवम् वक्ताको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । दुई तिहाईको दम्भ र झुठको जगमा उभिएको कम्युनिष्ट सरकारले पूर्ण प्रेस स्वतन्त्रा तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको उनको भनाई थियो । ज्यादती, जथाभावी कर वृद्धि, भ्रष्टचार, हत्या, हिंसा, अपराधीको संरक्षण, सरकारी जग्गाको भूमाफियाकरण लगायतका जनविरोधी कार्यहरुको विरुद्ध कांग्रेस भण्डाफोर गर्न अभियानमा रहेको पनि उनले बताए ।

यस्तै, कांग्रेसको आन्तरिक कमीकम्जोरी सच्याउंदै संगठित तवरले हिमाल, पहाड, तराई, मधेश–नेपाली कांग्रेस भन्ने नाराका साथ जनता समक्ष अभियान चलाएपछि जनता र कार्यकर्तामा उत्साह छाएको उनले बताए । दुई वर्ष भईसक्दा पनि धरानमा जनताले विकास, समृद्धि र सुशासनको अनुभूति गर्न नपाएको उनले बताए । उल्टै धरानले जनताले खानेपानीको अभाव र चर्को करको सामना गर्नु परेको उल्लेख गर्दै अब हुने निर्वाचनमा धराने जनताले कांग्रेसलाई रोज्नुपर्नेमा उनले जोडदिए ।

यस्तै, कांग्रेस धरान नगर सभापति तिलक राईले दुई तिहाइको कम्यूनिष्ट सरकार सविधानको मर्मविपरीत र संघीयतालाई नै धरासायी पार्नेतर्फ उन्मुख भएको आरोप लगाए । यसबाट आम जनतामा निराशा छाएको बताउदै उनले जागरण अभियानले कांग्रेस र जनता जागरुक बन्नुपर्ने बेला आएको बताए । उनले आम जनतालाई सुसुचित गराउदै गलत बाटोमा हिडिरहेको सरकारलाई खबरदारी गर्नुपर्ने खाँचो औल्याए । ‘जागरण अभियानले सम्पूर्ण देशबासीलाई जागरुक बनाउने काम गरिरहेको छ’ नगर सभापती राईले भने ‘अहिलेको सरकार सविधानको मर्म विपरीत, प्रेस सवतन्त्रता विरोधी,दुई तिहाइको दम्भ पालेर अगाडी बढीरहेको छ, यो नेपाली जनताले थाहा पाउनु पर्ने हुन्छ, त्यो जागरण अभियानले पूरा गर्छ ।’  नेपाली कांग्रेस आफै जागरुक हुन र जनतालाई जागरुक गराउने उद्देश्यले जागरण अभियानको शुरुवात गरिएको बताए । यता नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाइले पार्टी नेतृत्व तहमा यूवालाई पनि अवसर दिनुपर्ने बताए । ‘त्याग गरेको हिसाबले मात्र नभएर नेपाली कांग्रेस यूवा शक्तिले भरिएको हुनुपर्छ’–प्रसाईले भने ।

नेपाली कांग्रेस, धरान २ का सभापति सुधिरसिंह लिम्वुको अध्यक्षतामा भएको जागरण सभामा अध्यक्ष लिम्वु, नगर सचिव श्याम पोखरेल २ नं. वडा सदस्यद्धय सन्ध्या श्रेष्ठ र धर्म तामाङ लगायतले मन्तव्य राखेका थिएभने सभामा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई लगायतको उपस्थिति रहेको थियो । धरानका प्रत्येक वडामा जागरण सभा गर्ने र पहिलो चरणको जिल्लास्तरीय समापन कार्यक्रम जेठ २५ गते धरानको भानुचौकमा विशाल आमसभा गरी गरिने समेत सचिव तामाङले बताए ।