ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “दाइजोको निहुँमा यातना” शीर्षकको समाचार छापिएको छ । दाइजो नल्याएको भन्दै कोशी गाउँपालिका ७ स्थित हरिपुरका २४ वर्षीय रविन्द्रकुमार यादवले आफ्नी २० वर्षीय श्रीमती रुकमनी यादवलाई दाइजोको निहुँमा हसियाले डामेका छन् । रविन्द्रले एकवर्षअघि हरिनगर गाउँपालिका ५ बसन्तपुरकी रुकमनीसँग विवाह गरेका थिए । विहेको समयमा आफुले दाइजोमा मागेको मोटरसाइकल श्रीमतीको माइती पक्षले नदिएको भन्दै रुकमनीलाई रविन्द्रले यातना दिदै आएको रुकमनीकी काकी निर्मलादेवि यादवले बताइन् । रुकमनी दिदीबहीनीको विहे हरिपुरका दाजुभाई अरविन्द्र र रविन्द्रसंग एउटै परिवारमा भएको हो । केही समयअघि रुकमनी र उनका श्रीमान् विहेमा माइत आएको र दिदीलाई आउन नदिएपछि श्रीमानसँग रुकमनीको विवाद भएको निर्मलादेविले बताइन् ।

औजार : आजको औजार दैनिकमा “केराबारीमा स्वास्थ्य इकाइको सहयोगी नियुक्ति गर्दा गडबडी” शीर्षकको समाचार छापिएको छ । केराबारी गाउँपालिका वडा नं. ८ को सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी नियुक्ति यर्दा गडबडी भएको खुलेको छ । केराबारी गाउँपालिका वडा नं. ८ मा सामुदायिक स्वास्थ्य इकाइ आमजुङी स्थापना भएपछि कार्यालय सहयोगी नियुक्ति गर्दा परिक्षामा नै गडबडी गरेको देखिएको छ । लिखित परिक्षामा सोधिएका प्रश्नहरुको जाँच गरेको उत्तरपुस्तिका बाहिरीएपछि गडबडी गरेको विषय खुलेको सतहमा आएको हो । लिखित परिक्षामा एउटा प्रश्नको उत्तर उल्लेखित ४ वटा बैकल्पिक उत्तर उत्तर बाट छान्नुपर्ने ढाँचाका प्रश्नहरु प्रतिष्पर्धीलाई दिइएको थियो । प्रश्नको एउटै उत्तरमा एकैजनाले दिएको उत्तरलाई ठिक मानेर नम्बर दिइएको छ भने अर्को जनाको सोहि उत्तरलाई गलत मानेर नम्बर दिइएको छैन । गत असोज २४ गते स्वास्थ्य इकाई कार्यालयको उद्घाटन भइ सेवा सुरु गरेको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “स्कुल–स्कुलमा लागुऔषधविरुद्ध अभियान” शीर्षकको समाचार छापिएको छ । लागुऔषध सेवन तथा कारोबार गर्नेको संख्या बढ्दो भएकाले यसको व्यापार पनि मौलाइरहेको छ । लागुऔषध प्रयोगकर्ताको हिसाबले सुनसरी काठमाण्डौँपछिको दास्रो ठुलो जिल्लामा पर्छ । लागुऔषध र व्यापार मौलाएका बेला सुनसरी प्रहरीले लागुऔषधलाई नियन्त्रण गर्नका लागि नयाँ रणनीति अपनाएर काम थालेको छ । प्रहरीले जिल्लाका १२ वटा माध्यमिक स्कुललाई छानेर अभियान थालेको हो । जसमा केसी गाउँपालिकाको राष्ट्रिय विद्यालय, बराहक्षेत्रको प्रकाशपुर, आदर्श, मर्निङस्टार, इनरुवाको भगवती, शारदा, बालमन्दिर, इटहरीको ज्योति र शारदा माध्यमिक स्कुलमा कार्यक्रम थालेको हो । यस्तै धरानको पुलिस स्कुल, शिक्षा निकेतन, एम्स एकेडेमी, विजयपुर, दुहवीको सरस्वती, रामधुनीको जनता र भासी माध्यमिक स्कुलमा अभियान सञ्चालन गरिएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “क्रसरपीडितलाई ज्यान मार्ने धम्की” शीर्षकको समाचार छापिएको छ । सिङ्गो गाउँ जोखिममा पार्ने गरी सञ्चालन भएका मोरङको उर्लाबारी १ का क्रसर सञ्चालकले पीडितलाई ज्यान मार्ने धम्की दिने गरेका छन् । क्रसरका कारण मानव स्वास्थ्य तथा वातावरण स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै स्थानीयले विगत लामो समयदेखि रिले अनसन थालेका हुन् । एकै गाउँमा ५ वटा क्रसर सञ्चालनमा ल्याइएपछि गाउँ त्रसित बनेको छ । क्रसर उद्योगबाट निस्कने धुलोले गाउँ पूरै ढाकिने गरेको छ भने त्यसले मानव, चौपाया र खेतबारीको अन्नबालीमा प्रत्यक्ष असर पुर्याउने गरेको छ ।