काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस आज शुक्रबार मनाउँदैछ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो । दिवसका अवसरमा शुक्रबार तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै छ । स्वर्गीय भण्डारीको प्रतिमासँगै आश्रितको तस्बिरमा पनि माल्यार्पणको कार्यक्रम राखिएको छ ।

गत वर्षको जेठ ३ गते नै दुवै पार्टीको एकीकरण भएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुने तयारी छ।कार्यक्रमा जीवराजकी पत्नी माया ज्ञावली सहभागी हुने तयारी छ । मदनकी श्रीमती विद्यादेवी भण्डारी हाल मुुलुकको राष्ट्रपति रहेकी छन् । पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निध भएको थियो।  जिप त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन् ।