धरान: यूमा साम्यो महासभा नेपालले मुन्धुममा आधारित लिम्बु समुदायको पूरातात्विक सम्पदाको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारलाई गुरुयोजनासहित कार्ययोजना पेश गरेको छ । लिम्बु समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको रक्षा गर्ने उद्देश्यले गुरुयोजनासहित कार्ययोजना तयार गरेको महासभाले जनाएको छ ।

महासभाले गुरुयोजनासहितको कार्ययोजना प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग पर्यटन, वन तथा वाताबरण मन्त्रालयमा पेश गरेको जनाएको छ । कार्ययोजनामा पुरातात्विक स्थलहरुको संरक्षणको लागि ३ अर्ब ५४ करोड ४० लाख रुपैयाँ लागत प्रस्ताव गरिएको सभाका सचिब भिमसेन लिम्बूले धरानमा पत्रकार सम्मेलन गर्दे जानकारी दिए । ‘मुन्धुममा आधारित धार्मिक, साँस्कृतिक, पूरातात्विक सम्पदाहरुको संरक्षण सम्बद्र्धन एबं विकास गर्ने उद्देश्यले कार्ययोजना १ नं. प्रदेश सरकारलाई पेश गरेका छौं,’सभाका सचिब लिम्बुले भने,‘हाम्रा कार्ययोजना लिम्बु समुदायको लागि मात्र नभएर सबै क्षेत्रको लागि हो, पर्यटन विकासको लागि हो ।’

गुरुयोजनामा सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा राखिएको छ । २०८० साल फागुन ३० गतेसम्ममा परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । महासभाका अध्यक्ष देबेन्द्रकुमार बनेमले सभाले बनाएको कार्ययोजनाले लिम्बु समुदायको ऐतिहाशीक धरोहर क्षेत्रको संरक्षण हुने र सरकारले अघिसारेको पर्यटन विकासमा समेत टेवा पुग्ने बताए । मुन्धुमसँग जोडिएका कतिपय पुरातात्विक महत्वका स्थलहरु ध्वस्त पारिएको बताउदै प्राकृतिक रुपमा संरक्षण सम्बद्र्धन गर्ने अभियान रहेको स्पष्ट पारे । ‘मुन्धुमसंग जोडिएका कतिपय पुरातात्विक स्थल ध्वस्त बनाइएको छ,’सभाका अध्यक्ष बनेमले भने,‘अब त्यसलाई प्राकृतिक रुपमा नै संरक्षण गर्नुपर्छ ।’

पुरातात्विक महत्वका सम्पदाहरु ध्वस्त हुँदा लिम्बू संस्कृति लोप हुने खतरा बढेकोतर्फ इङगीत गदै अध्यक्ष बनेमले यसमा सरकारको समेत दायित्व रहेको बताए । उनले कतिपय ऐतिहासिक स्थलहरु निजिकरण भएको बताउदै राज्यले त्यस्ता ठाउँलाई फिर्ता ल्याउनेतर्फ ठोस कदम चाल्नुपर्ने बताए । लिम्बूहरुको आफ्नै सिरिजंगा लिपी, यूमा धर्म भएकोले यसको संरक्षण, सम्बद्र्धन गर्नको लागि अभियान शुरुवात गरिने उनको भनाई थियो । ‘लिम्बूहरुको आफ्नै सिरिजंगा लिपी र यूमा धर्म छ’ उनले भने ‘अब कुनै दुविधा छैन लिम्बूहरुलाई ।’ तर, केही लिम्बु समुदायले भाषा, धर्म, संस्कृतिको गलत प्रचार गरेर लिम्बुहरुको मौलिक संस्कृतिमाथी प्रहार भइरहेको दाबी गरे ।

लिम्बूहरुलाई किरात हो भन्दै भ्रम सिर्जना गरेको आरोप लगाउदै यसमा तिब्र असनतुष्टि जनाए । भाषा, धर्म, संस्ककार, संस्कृतिको जगेर्ना गर्न किरात याक्थुङ चुम्लुङले समेत नसकेको आरोप लगाउदै अब यसको रक्षाको लागि सभाले कदम अघि चालेको र टुग्याएररै छाड्ने प्रतिबद्धतासमेत जनाए । 'कियाचुले पनि ३० वर्षसम्म लिम्बुहरुको भाषा, धर्म, संस्कृतिमा उदासिन बन्यो, केही गर्न सकेन,’उनले भने,‘केही गर्न नसकेपछि बाध्य भएर हामी आउनु परेको हो लिम्बु संस्कृति जोगाउन’ । लिम्बु समुदायको धर्म यूमा भएकोले अब धर्मको महलमा कोही पनि लिम्बूहरु दुविधामा नपर्न आग्रह गदै यसले मात्र लिम्बू समुदायको अस्तित्व रक्षा गर्ने जिकिर गरे । आगामी जनगरणमा लिम्बू समुदायले धर्मको महलमा यूमा लेख्न आग्रह समेत गरे । मुन्धमलाई व्यावहारमा लागू गदै पुस्तानतरण गर्नेतर्फ लाग्नु पर्ने सभाले जनाएको छ ।