धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले बंंश परम्परा, भाषा, धर्म सँस्कृति, रितिथिती नै पहिचान भएको बताएका छन् ।

धरान १० स्थित सैनिक भवनमा आज आयोजित फागो चोङ्वाङ् संरक्षण मञ्च तथा वंशावली प्रकाशन समितिद्धारा प्रकाशित “सिन्धोलुङ मैवादेन फागो चोङ्वाङ ईतिहास, मुन्धुम र वंशावली”को विमोचन गर्दै सभामुख भण्डारीले यस्तो धारणा राखेका हुन् । सभामुख भण्डारीले पानसमा दिप प्रज्वलन गर्नुका साथै कार्यक्रमको उद्घाटन अवसरमा ढोलसमेत बजाएका थिए । सभामुख भण्डारीले मौलिक सँस्कृति, सँस्कार, बंश परम्पराको निरन्तरता नै सँस्कृतिको जगेर्ना र पहिचानको संरक्षणको प्रस्थान बिन्दु भएको पनि बताए ।

fago-chongbang

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले विगत र वर्तमानको ईतिहास र अवस्थाबारे भोलीका पुस्तालाई हस्तान्तरण गर्न बंशावली महत्वपुर्ण भएको बताए । वंशावली विगत, वर्तमान र आगतलाई जोड्ने सेतु भएको बताउदै सभामुख भण्डारीले विमोचन भएको पुस्तक फागो चोङ्वाङ बंश तथा लिम्बु जातिका निमित्त मात्र नभई नेपाल र नेपालीको ईतिहास बुझ्न, जान्न एवं अध्ययन गर्न चाहने सबैका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे ।

फागो चोङवाङ संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष नरेन्द्र कसमार फागो चोङवाङको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा छिमेकी राष्ट्र भुटान तथा भारतको सिक्किम, पश्चिम बंगालमा रहेका फागो चोङवाङहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा लिम्बु ईतिहासका ज्ञाता अकल बहादुर मेन्याङ्गवो, मञ्चका सल्लाहकार नन्द बहादुर फागो चोङवाङ, ईतिहास, मुन्धुम र वंशावलीका संकलन संयोजक डम्बर बहादुर फागो चोङवाङ लगायतले मन्तव्य राखेका थिए ।

savamukhh

धरान १० सैनिक भवनमा आयोजित सो कार्यक्रममा लिम्बु जातिका विभिन्न थरहरुका प्रतिनिधिहरुका साथै धरान उपमहानगरपालिका वार्ड नं. १० का अध्यक्ष श्रीप्रसाद सुब्बा लगायतको उपस्थिति रहेको थियो । उक्त विमोचित पुस्तकको सम्पादन संयोजन त्रिवेणी फागो चोङवाङले गरेका थिए भने ईतिहास, मुन्धुम र वंशावलीका तथ्यहरुको संकलन संयोजन डम्बर बहादुर फागो चोङवाङ र मुन्धुम सम्बन्धी संयोजन जहर सिं फागो चोङवाङले गरेको मञ्चले जानकारी दिएको छ । उक्त अवसरमा पुस्तक प्रकाशनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने व्यक्तित्व लगायत लाई सम्मान गरिएको थियो ।