काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पोलिटब्यूरो गठनमा ढिलाइ हुने भएको छ ।

पोलिटब्यूरोमा रहने सदस्यहरुको नाम टुंगो लगाउन शीर्ष नेताहरुलाई समस्या भएपछि गठनमा ढिलाइ भएको हो । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच १४७ सदस्यीय पोलिटब्यूरोमा राख्ने नेताहरुको नाममा लगभग सहमति भइसकेको भए पनि केही नेताहरुको असन्तुष्टिका कारण घोषणा हुन नसकेको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच पोलिटब्यूरोमा पर्ने सदस्यबारे भागबण्डा मिल्न नसकेको बताइएको छ ।

मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्ष पुगेका अवसरमा पोलिटब्यूरो घोषणा गर्ने पूर्वसहमति भए पनि नेताहरुबीच केही नामका विषयलाई लिएर विवाद भएपछि रोकिएको बताइएको छ । पूर्व एमालेको तर्फबाट पहिले पोलिटब्यूरोमा रहेका ५९ जना नेकपाको पोलिटब्यूरोमा रहने सहमति भए पनि थप २२ जनाको टुंगो लगाउन हम्मे परेको थियो ।

त्यस्तै पूर्व माओवादीको तर्फबाट नेकपाको स्थायी समितिमा रहेका १९ जनाबाहेक पोलिटब्यूरोका लागि थप ४७ जनाको टुंगो लगाउन पनि निकै समस्या परेको छ । नेकपाले जनवर्गीय संगठनहरुको नाम र नेतृत्वको विवाद भने टुंगो लगाइसकेको छ ।