ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “धरानमा फेरी ३ जनामा डेङ्गु सङक्रमण” शीर्षकको समाचार छापिएको छ । धरानमा थप ३ जनामा डेङगु सङ्क्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षका चिकित्सक डा. देवराज घिमिरेका अनुसार उनीहरु सबै डेङगुका नयाँ विरामी हुन् । यसअघि वडा नं. १५ का ३ जना बालबालिकामा डेङ्गु सङ्क्रमण देखिएको थियो । थपिएको सहित डेङ्गु सङ्क्रमितको संख्या सात पुगेको छ । प्रतिष्ठानमा उपचार गर्न पुगेका ती सबै धरान १५ बाँझगराकै बासिन्दा रहेको बताइएको छ । एकसाताअघि फेला परेका विरामीहरु बलबालिका थिए भने शनिबार उपचार गर्न पुगेकाहरु सबै २० वर्षमाथिका छन् । उनीहरुको उपचार प्रतिष्ठानको आकस्मिक कक्षमा भइरहेको छ । ३ जनामध्ये एकजना २२ वर्षीय पुरुष, ३३ वर्षीय महिला र अर्का ६२ वर्षीय वृद्धा रहेका छन् । उनीहरु सबैको पोजेटिभ रिपोर्ट आइसकेको छ । उनीहरुलाई बेडभर्ना गरेर थप उपचार गर्न वार्डमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “भारतसँग जोडिएको नाका बन्द” शीर्षकको अर्को समाचार पनि छापिएको छ । भारतको दार्जिलिङमा आइतबार हुने विधानसभा उपनिर्वाचनका लागि आइतबार भारतको पानीट्याङकी र काँकडभिट्टाकानाका बन्द भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाका अनुसार भारतको पानीट्याङकी र काकडभिट्टाका नाका बेलुका ६ बजे बन्द भएर सोमबार बिहान ६ बजे खुल्ने भारतीय प्रहरीले जानकारी दिएको थापाले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “ताप्लेजुङमा सर्पले डसेर बालकको मृत्यु” शीर्षकको समाचार छापिएको छ । सर्पले डसेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ तापेथोकका एक बालकको ज्यानगएको छ । तापेथोकका अन्दाजी १३ वर्षीय फल्गुनन्द तुम्बाहाम्फेको उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । प्राथमिक उपचारपछि घर ल्याइएका ती बालकलाई पुनः समस्या परेपछि उपचारका लागि झापातर्फ नै जाने क्रममा इलामको फिक्कल पुर्याउदा मृत्यु भएको सरस्वती मावि लेलेपका प्रअ राम तामाङले जानकारी दिए ।

औजार : आजको औजार दैनिकमा “चिण्डे डाँडामा भ्यू टावर बन्ने” शीर्षकको समाचार छापिएको छ । धरान २० मा रहेको चिण्डे डाँडामा भ्यू टावर बन्ने भएको छ । शनिबार एक कार्यक्रमकाबीच सुनसरी १ नं. क्षेत्रका संघिय सांसद जयकुमार राईले भ्यू टावरको शिलान्यास गरेका छन् । चिण्डे डाँडा भन्दा थोरै माथि रहेको अर्को डाँडामा प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट टावर निर्माण हुन लागेको हो । चिण्डे डाँडा पर्यटन तथा पूर्वाधार विकास केन्द्र नेपालले टावर निर्माण गर्न अगुवाई गरेको हो । आरसिसि मोडेलमा बन्ने टावर ४ तलाको हुने र यसवर्ष असारभित्र ३ तलाको निर्माण कार्य सकिने निर्माण समितिका संयोजक शंकर तामाङले बताए । उनले प्रदेश सरकारले ३० लाख बजेट छुट्याएको र त्यसैबाट निर्माण कार्य हुने तामाङले बताए ।