दमक : दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा झापा मेचीनगर–१४ दुवागढीका ४१ वर्षीय अर्जुन सुनुवारको मृत्यु भएको छ ।

शनिवार भएको दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित कालीझोडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प १७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी ८१८६ नम्बरको मोटरसाइकल चालक सुनुवारको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, १७८४ नम्बरको मोटरसाइकल चालक इलाम देउमाई नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर मगर र सोही मोटरसाइकलपछाडि सवार सुनसरीको इटहरीकी एक युवती गम्भीर घाइते भएका छन् । दुवै जनाको उपचार भइरहेको छ ।