अस्ट्रेलिया : अस्ट्रेलियामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले चमत्कारिक जित हात पारेको छ ।

प्रधानमन्त्री स्टक मोरिसन नेतृत्वको कन्जरभेटिभ गठबन्धनले जित हात पारेको हो । मोरिसनले निर्वाचनमा पुनः जित दिलाएकोमा मतदातालाई धन्यवाद दिएका छन् । उनले आफूलाई चमत्कारमा विश्वास भएको भन्दै यो अनुमान पहिले नै गरिसकेको बताए । उनले आफू नेतृत्वको गठबन्धनले करिब बहुमत ल्याएको बताए ।
अस्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका नेता बिल सर्टनले आफ्नो पराजय स्वीकार गरिसकेका छन् । उनले पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका छन् ।

चुनावको अन्तिम परिमाम घोषणा हुन भने बाँकी नै छ । तर, ७० प्रतिशतभन्दा बढी मतको गणना हुँदा गठबन्धनले जित हासिल गरेको हो । बहुमतका लागि अस्ट्रेलियामा ७६ सिट आवश्यक पर्ने छ । सत्तारुढ गठबन्धन ७४ सिटमा अगाडि देखिएको छ । लेबर पार्टी ६६ सिटमा अगाडि छ । पछिल्ला दुई वर्षमा गरिँदै आएको एक्जिट पोलमा भने गठबन्धन लेबर पार्टीसँग पछाडि पर्दै आएको थियो ।