धरान :  लामो समयदेखि जीर्ण र अर्काको भवनमा बस्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले अब भने आफ्नै जग्गा पाएको छ ।

भवन अभावका कारण कार्यालय इटहरी वा तरहरा सर्ने योजनामा रहेका बेला धरान उपमहानगरपालिकाले धरान १५ बाझगरामा रहेको रात्रीकालीन बस सेवाका छेउमा रहेको तीनकठ्ठा उपलब्ध गराउने भएपछि अब जिल्ला ट्राफिक कार्यालय धरानमा रहने पक्कापक्की भएको हो ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले लामो समयको छलफल पछि जिल्ला ट्राफिक प्रहरी कार्यालको स्थायी भवन निर्माणका लागि तीन कट्ठा जग्गा उपलब्ध गराएको बताइन् ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक होमनाथ दाहालले कार्यालयको भवनका लागि पहिलो पटक इन्चार्ज भएर आउदा पनि धेरै प्रयास गरको बताए । उनले आफू दोस्रो कार्यकालमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्हाल्न आएपछि भवनका लागि जग्गा उपलब्ध भएकोप्रति खुशी व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरीमा १५ वटा कार्यालय प्रमुख फेरिए । सबै जीर्ण भवनमा भाडामा रहेका थिए । यसभन्दा अगाडि धरान ८ धनकुटे रोगमा लामो समय भाडामा रहेको कार्यालय त्यसपछि धरान ८ बगरगाछीमा रहेको बागमहलमा हालसम्म रहेको छ ।

ट्राफिक प्रहरीको आफ्नै जग्गा भएपछि अब भने धरानबाट कार्यालय नसर्ने कुरामा स्थानीयहरु समेत ढुक्क रहेका छन् । विगतमा धेरै कार्यालयहरु धरानबाट स्थान्तर भइसकेका थिए । सरकारी कार्यालयहरु धमाधम सर्दा मृत सहरको उपनाम पाउन आटेको धरानले जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन धरानमा बन्ने निश्चित भएपछि धरानेहरु समेत खुशी छन् ।