धरान(डेस्क) : धादिङको गजुरी गाउपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

५ जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, धादिङ बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य छन् । मृतकमध्ये चार जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाईते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाईतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ख ४३८७ नम्बरको बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । बस सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटनाअघि बसका चालक फेरिएको घाइतेहरुले बताएका छन् ।

दुर्घटनाअघि बसका चालक परिवर्तन भएको घाइतेहरुले बताएका छन् । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।