इटहरी : इटहरी उपमहानगरपालिका ९ मा रहेको नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी (डिभिएम) स्कुलमा बनेको संरचना ऐलेनी भएपछि इटहरीका मेयर द्धारिकलाल चौधरीले आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै भत्काउने चेतावनी दिएका थिए ।

तर, मेयर चौधरीले भत्काउने चेतावनी दिएसँगै चार वटा विकल्प पनि दिएका थिए । उक्त चारवटा विकल्प मध्ये कुन बिकल्प छान्ने भन्ने विषयमा विद्यालय अन्यौलमा भएपछि अरु दुई दिनको समय थप गरिएको छ ।
चार वटा विकल्प मध्ये आज र भोलीलाई विद्यालय सञ्चालकले समय मागेर के गर्ने भन्ने विषयमा छलफल गर्ने भएकाले स्थगित गरिएको इटहरीका मेयर चौधरीले जानकारी दिए । चार विकल्पमा विद्यालयले ओगटेको जग्गा लिजमा लिनुपर्ने, सट्टा पट्टाका लागि तयार हुनुपर्ने, बनेको संरचनाको मूल्य लिनुपर्ने अन्यथा कानुन वमोजिम अघि बढ्ने मेयर चौधरीले बताउँदै आएका छन् । विद्यालय सञ्चालकले दुई दिनमा निश्कर्ष ननिकाले आँफू कानुन बमोजिम अगाडि बढ्नुपर्ने मेयर चौधरीको भनाई छ । यता, विद्यालयले भने अन्य ठाउँमा पनि सार्वजनिक जग्गा रहेको र यहाँ मात्रै उपमहानगरपालिकाले हटाउने चेतावनी दिएको प्रति आपत्ती जनाउँदै आएको छ ।

उक्त विद्यालयले ३ विगाह ३ कट्टा ३ धुर सार्वजनिक (ऐलानी) जग्गा ओगटेको छ । यसअघि इटहरी ९ का वडाध्यक्ष भुपेन्द्र बरालको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।