इटहरी : नेपाल हिन्दु राष्ट्र हुनुपर्ने अभियन्ताहरुले बताएका छन् । इटहरीमा सोमबार बोल्दै अभियन्ताहरुले त्यसो भनेका हुन् ।

राजनीतिज्ञ डा. प्रकाशचन्द्र लोहनीले धर्म र संस्कृतिलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् । उनले भने, ‘सबै धर्महरु मानव हितकै लागि आएका हुन्, तर राष्ट्रको पहिचान भनेको सनातन हिन्दु नै हो ।’ उनले नेपालको पहिचान रहनुपर्ने बताउँदै राष्ट्रको पहिचान सनातन हिन्दु भएको तर्क गरे । ‘नेपाल हिन्दु राष्«को रुपमा पहिचान भएको छ,’ उनले भने, ‘सबै धर्म मानव हितकै लागि छन्, सबै मिलेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ ।’ इटहरीमा सोमबार बृहत धर्मशभालाई सम्बोधन गर्दै डा. लोहनीले संस्कृति, धर्म, भाषा, जातीलाई संङ्कीर्ण रुपमा नसोचि फराकिलो र सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।
कार्यक्रममा डा. केबी रोकायले देशबाट मात्रै नभई संसारबाटै धर्म लोप हुन लागेको बताए । उनले भने,‘अहिले संसारबाटै धर्म लोप हुँदैछ, धर्म लोप भएपछि मानव दानब बन्छ ।’ उनका अनुसार मुलुकमा हिन्दु राष्ट्र नभएकाले भ्रष्ट्रचार र अहिंसा बढ्दै गईरहेको उल्लेख गरे । ‘हामीलाई राष्ट्र चाहियो, धर्म सापेक्ष राष्ट्र बन्नुपर्यो, सबै धर्मको रक्षाका लागि एक हुनुपर्यो,’ उनले भने, ‘धर्मले राजनीति डोहोर्याउनु पर्ने भएपनि यहाँ राजनीतिले धर्म डोहोर्याईरहेको छ ।’

कार्यक्रममा हरिबोल भट्टराईले देशलाई क्रान्तिकारी बनाउनुपर्ने भएपनि टुक्रिदैँ गएको उल्लेख गर्दै आपत्ती जनाए । उनले भने, ‘धर्म छाडा भएपछि मुलुक काहिँ बन्छ, यहाँ देश टुक्रा–टुक्रा बन्दै गएको छ ।’ लामा गुरु खिलबहादुर थिङले जनजातीले नचाहेमा हिन्दु राष्ट्र नहुने बताउँदै जनजातीहरु पनि हिन्दु राष्ट्रमा एक हुनुपर्नेमा जोड दिए । भने, ‘जनजातीले चाहेमा मात्र हिन्दु राष्ट्र नेपाल हुन्छ, अहिलेको संघीयता जनजातीले मानेका छैनन्, देशमा हिन्दु राष्ट्र आएमात्र मुलुकमा सुशासन हुन्छ ।’

कार्यक्रममा हिन्दु धर्मका अभियन्ता सनातन युवा मञ्च नेपालका संरक्षक युवासन्त श्री निवासाचार्यले कुनै पनि हालतमा मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने अन्यथा आँफूहरु कठोर आन्दोलनको तयारीमा उत्रन बाध्य हुनुपर्ने चेतावनी दिए ।