ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “स्वागत गर्दागर्दै शिक्षकको निधन” शीर्षकको समाचार छापिएको छ ।आफ्नै स्वागतमा आयोजना गरिएको कार्यक्रममा बोल्दाबोल्दै पाँचथरको फिदिम नगरपालिका १४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको निधन भएको छ । विद्यालयमा नवनियुक्त शिक्षक फागोको स्वागत र अर्का शिक्षक अशोक तिम्सिनाको विदाईका लागि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मन्तव्य राखिसक्ने वित्तिकै फागो बेहोस भएर भुईमा ढले । अचानक ढलेका उनको केहीबेरमै निधन भएको स्थानीय राम बास्कोटाले बताए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “राजपाका दुई नेता जेल चलान” शीर्षकको समाचार छापिएको छ । किर्ते उपभोक्ता समिति प्रकरणमा राजपा नेपालका केन्द्रीय सदस्यहरु विपी यादब भनिने विश्वनाथ प्रसाद र हरिनारायण मण्डललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
किर्ते उपभोक्ता समिति गठनका लागि सरकारी कागज किर्ते तथा ठगी उद्योग र सरकारी छाप दस्तखत किर्ते लिखत गरेको भन्ने दुई फरक मुद्धामा बहसपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोईरालाको इजलासले यादव र मण्डललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते गरि उपभोक्ता समिति गठन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि प्रहरीले मुद्धा चलाएको थियो । दुबै प्रकरणमा प्रहरीले पक्राउ गरी आरोपीत वनाईएका पुर्वाधार बिकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई ४ लाख रुपैयाँ धरौटी लिने आदेश भएको जिल्ला अदालत सप्तरीले जनाएको छ । यसैगरी अग्नीसाइर कृष्णासवरण गाउपालिकाको किर्ते उपभोक्ता समिती सम्बन्धी मुद्धामा उनीहरुसंगै प्रतिवादी वनाइएका दिलिपकुमार दास र रामाकान्त ठाकुरको हकमा अदालतले २ लाख ५० हजार रुपैयाँका दरले धरौटी लिने आदेश गरेको छ ।

त्यसैगरी आजकै ब्लाष्ट टाइम्स दैनिकमा “पक्राउ परेनन् पाँचथरका शितलको हत्यारा” शीर्षकको समाचार छापिएको छ । हिलिहाङ गाउँपालिका–४ कि १५ वर्षीया किशोरी शीतल योङहाङको हत्याका मुख्य योजनाकारलाई छिट्टै पक्राउ गरेर कारबाही गर्न माग गर्दै पाँचथरको सदरमुकाम फिदिममा सोमबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
हत्या भएको एक साता बितेको र हत्याका मुख्य योजनाकार भनिएका व्यक्ति पहिचान भएर पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै हत्यारालाई छिटो पक्राउ गर्न माग राखेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
शीतल योङहाङको हत्यारालाई कारबाही गर, घाँटी रेट्न पाइँदैन, शीतल याङहाङलाई न्याय दे लगायत लेखेको प्लेकार्ड बोकेर फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । फिदिम बजार परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालय पाँचथरको अगाडि पुगेर विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
जिल्लाको हिलिहाङ गाउँपालिका– ४, पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको गएको वैशाख २९ गते साँझ घाँटी रेटी हत्या गरिएको अवस्थामा घरनजिकैको सडक छेउमा शव फेला परेको थियो ।
घटनामा संलग्न जिल्लाको फाल्गुनन्द गाउपालिका–२ पात्लेभञ्ज्याङका २० वर्षीय युवक भगिरथ बाँस्तोलालाई प्रहरीले गएको ३० गते नै पक्राउ गरिसकेको छ । घटनाका मुख्य योजनाकार फाल्गुनन्द–२ कै २० वर्षीय पदम तामाङ भने फरार रहेका छन् । फरार रहेका तामाङ शीतलको प्रेमी रहेको र प्रेम सम्बन्धमा खटपट आएपछि तामाङले शीतलको हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कर्मचारीलाई राजनीतिबाट बन्देज लगाउने कानुन बन्दै” शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश अधिकारीले कर्मचारीलाई राजनीतिमा मौका नदिने स्पष्ट पारेका छन् । उनले जारी संसदा पेश गर्ने गरी प्रदेश सरकारले तयार गरेको निजामति ऐनले कुनै पनि कर्मचारीलाई सक्रिय सक्रिय राजनीतिक जीवनमा जाने गरी सहुलियत नदिने बताएका हुन् । कर्मचारीको कार्यदक्षतामाथि नै प्रश्न उठेको भन्दै कर्मचारीको काम भरपर्दो र गुणस्तरिया सेवा प्रवाह गर्नु रहेको बताउदैँ राजनीति गर्ने काम राजनीतिज्ञको रहेको तर्क गरे । उनले जसले जे जिम्मेवारी लिएको त्यो इमान्दारीतापूर्वक पूरा नगर्दा सोचेअनुसारको प्रगति हासिल गर्न नसकिरहेको बेलामा प्रदेश नम्बर १ मा बन्ने यो कानुनले प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।