ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भोजपुरमा विप्लव र प्रहरीबीच दोहोरो फायरिङ” शीर्षकको समाचार छापिएको छ । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो मुठभेड भएको छ । मङ्गलबार भएको मुठभेडमा प्रहरीको गोली लागि षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन् । सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । उनको साथमा हतियार समेत फेला परेको बताइएको छ । प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, एक थान बाइनाकुर र चार डेटोनर बरामद गरेको इन्सपेक्टर पाण्डव राजबशंीले जानकारी दिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पौडी खेल्ने क्रममा २ बालकको मृत्यु” शीर्षकको समाचार छापिएको छ । धनकुटामा लेगुवा खोलाले बगाउँदा दुईजना बालकको मृत्यु भएको छ ।

सोमबार खोलामा पौडि खेल्न गएका महालक्ष्मी नगरपालिका–२ का १२ बर्षिय गौरब लुँगेली मगर र महालक्ष्मी–३ का १४ बर्षिय अमिर मगरलाई लेगुवा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान दह भन्दा एक सय मिटर तल शब फेला परेको महालक्ष्मी नगरपालिका २ का वडाअध्यक्ष धुब रायले जानकारी दिएका छन् ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “हामीले कामले जवाफ दिनुपर्छ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेकपाबाट निर्वा्चित जनप्रतिनिधिहरु स्वार्थी बन्न थालेको भन्दै जनताको हितमा काम गर्न आग्रह गरेका छन् । पार्टीमा लामो समयसम्म छाएको अन्यौलताले उनीहरु लगाम विनाको घोडा भएको घिमिरेको भनाइ थियो ।

भोजपुरमा नेकपा पार्टी कार्यकर्ताहरुसँग भेटघाटको क्रममा मन्त्री घिमिरेले चुनाव जितेर जानेहरुमा स्वेच्छाचारिता बढ्दै गएकाले यसलाई बेलैमा सच्याउन जरुरी रहेको टिप्पणी गरेका छन् ।सरकारले यो कार्यकाल राम्रो काम गरेर देखाउने हो भने अबको ५० वर्ष कम्युनिष्टकै राज हुने मन्त्री घिमिरेको भनाइ छ ।
मन्त्री घिमिरेले अब पार्टी एकता टुंगिसकेकाले हिजो को कहाँबाट आयो नभनी एउटै धार भएर नेता कार्यकर्ताहरु अघि बढ्नुपर्नेमा जोड दिए । सरकारको कामबाट कांग्रेस आत्तिएको टिप्पणी गर्दै उनले भने, ‘तलदेखि माथिसम्म जताततै नेकपाको वर्चस्व देखेर कांग्रेसमा कुण्ठा पलाएको छ, हामीले कुराले नभइ कामले जवाफ दिन सक्नुपर्छ ।’
कार्यक्रममा नेकपाका सचिव विमल खड्काले पार्टी एकीकरणले पूर्णता पाइसकेकाले अब गाउँगाउँसम्म जनतामाझ अभियान लिएर जानुपर्ने बताएका छन् ।

औजार : आजको औजार दैनिकमा “बत्तीमुनीको अध्याँरो मुख्यमन्त्री राईको गाउँ” शीर्षकको समाचार छापिएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइको जन्म स्थान भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ३ पसल भन्याङ हो । उनका बुबा आमा अहिले पनि सोही स्थानमा बसोबास गर्छन् । तर बत्तीमुनिको अध्याँरो भने झैँ मुख्यमन्त्रीको गाउँपालिकामा अहिलेसम्म केन्द्रिय प्रसारणको विधुत पुगेको छैन । अधिकांश आमचोकबासीले उज्यालोको विकल्पको लागि सौर्य उर्जा प्रयोग गर्दै आइरहेका छन् । सौर्य उर्जाको पनि भर नहुने त्यहाँका बासिनदाहरु बताउँछन् । हाल आमचोक गाउँपालिकामा ३५ सय घर धुरी छन् । स्थानीय खोलाहरुबाट उत्पादन गरिएको लघु जलविधुत आयोजनाबाट ५ सय ५० घरधुरी मात्रैले विधुत उपयोग गर्न पाएका छन् । त्यो पनि भोल्टेज कम भएर राम्रो उज्यालो नदिने उपभोत्ताहरु बताउँछन् ।