धरान: पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको हत्या गरिएका परिवारका आफन्तहरुले शव जिम्मा नलिने अडान लिएका छन् ।

मृतक सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले पोष्टमार्टम भइरहेको छ । ठुलो संख्यामा भेला भएका मृतकका आफन्तजनहरुले एक साताअघि सोही घरमा नुनमा सिसा मिसाइएको घटनाको अनुसन्धानमा प्रहरीले वेवस्ता गरेको र अहिले विभत्स घटना भएको भन्दै असन्तुष्टी जनाएका छन् । प्रहरी गम्भीर भएर सिसा काण्डको अनुसन्धान नगरेकै कारण पछिल्लो सामुहिक हत्याको घटना भएको जिकिर गर्दै उनीहरुले शव जिम्मा नलिने बताएका छन् ।

असन्तुष्ट आफन्तजनहरुले प्रहरीले घटनाको अनुसन्धानबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । उनीहरुले झुण्डिएको अवस्थामा भेटिएको मानबहादुर माखिम एक्लैले ९ जनाको हत्या गर्न नसक्ने भन्दै प्रहरीले उनलाई मात्र हत्यारा देखाएर उम्किन खोजेको आरोप लगाएका छन् । मृतक परिवारका आफन्त मिक्लाजुङ २ का प्रेमकुमार फियाकले सिसा काण्डमा जाहेरी परेपनि प्रहरीले गम्भीरतापुर्वक अनुसन्धान नगर्दा सामुहिक हत्याकाण्ड हुन पुगेको भन्दै आक्रोश पोखे । उनले सत्यतथ्य छानबिनको प्रगति जानकारी नगराएसम्म शव जिम्मा नलिने बताए । 'खानामा सिसा मिसाएको पाएपछि ३ जनामाथि शंका लागेको कुरा भनेको थियो । प्रहरीमा जाहेरी पनि दिएको हो, तर ३ जनालाई किन सोधपुछ पनि गरिएन ?'उनले भने,'हामीलाई प्रहरीको व्यवहार र अनुसन्धान माथि नै चित्त बुझेको छैन । शव लैजाउ भन्दैछ, हामी जिम्मा लिदैनौं ।'

IMG_20190522_140352

सोमबार राती मिक्लाजुङ–३, आरुबोटेमा धनराज सेर्माको पाँचजना र बमकुमार फियाकको परिवारका चारजनाको हत्या गरिएको थियो । बमकुमार ससुरा हुन् भने धनराज ज्वाइँ हुन् । उनीहरुको घर करिब २ किलोमिटर दुरीमा छ । मृत्यु हुनेमा ७४ वर्षीय बमकुमार फियाक, उनकी श्रीमति ७१ बर्षीया फर्सिमाया फियाक, ३१ वर्षीया छोरी मनकुमारी फियाक र जेठी सासुकी १३ वर्षीया छोरी श्रेया फियाकको हत्या भएको थियो भने ४१ वर्षीय धनराज सेर्मा, उनकी ३६ वर्षीया श्रीमती जस्मिता सेर्मा, १३ वर्षीया नातीनी युवाना सेर्मा, ६ वर्षीय मुना सेर्मा र ८ वर्षीय इच्छा शेर्माको खुकुरी प्रहार गरी हत्या भएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भइन् । हत्यामा संलग्न भनी शंका गरिएका मिक्लाजोङ ७ का मनबहादुर माखिमले झुन्डिएर आत्महत्या गरेका थिए ।