धरान: दुई परिवारको विभत्स हत्या गरिएका पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेका मृतक ९ जना र झुण्डिएको एक जना गरी १० जनाको शव बुधबार पोष्टमार्टम गरिएको छ ।

हत्याकाण्डमा हत्या गरिएका ९ जना र झुण्डिए आत्महत्या गरेका एक जनासहित १० जनाकै आज धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको हो । पोष्टमार्टमपश्चात हत्या गरिएका २ परिवारका आफन्तजनले शव जिम्मा लिएर पहाड घर(मिक्लाजुङ)तर्फ लिएर गइसकेका छन् । मृतकहरुको अन्त्येष्टी भोली बिहिबार गरिने आफन्तजन एवं सञ्चारकर्मी भुमिका सुब्बा फियाकले जानकारी दिइन् । ती मध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको आरुबोटेमा अन्त्येष्टी गरिनेछ भने धनराज सेर्माको परिवारको ५ जनाको अन्त्येष्टी सेर्माहरुको बसोबासस्थल रहेको माङजाबुङमा गरिनेछ ।

सोमबार राती मिक्लाजुङ गाउँपालिका ३ स्थित आरुबोटेमा बमबहादुर फियाकको परिवारका चारजना र धनराज सेर्माको परिवारको पाँचजनाको हत्या गरिएको थियो । ७४ बर्षीय बमकुमार ससुरा हुन् भने धनराज ज्वाइँ हुन् । उनीहरुको घर करिब १ किलोमिटरको दुरीमा छ । हत्या काण्डमा ७४ बर्षीय बमबहादुर, उनकी श्रीमति ७१ बर्षीय फर्सिमाया, कान्छी छोरी ३१ बर्षीय मनकुमारी र १३ बर्षीय नातिनी श्रेयाको हत्या भएको थियो । यस्तै, ज्वाई ४१ बर्षीय धनराज शेर्मा, उनकी श्रीमति ३६ बर्षीय जस्मिता, छोरीहरु १३ बर्षीय युवाना, ६ बर्षीय मुना र ८ बर्षका छोरा इञ्छाको पनि धारिलो हतियारले हत्या भएको थियो ।

बुधबार वीपी प्रतिष्ठानमा शवको पोष्टमार्टम भइरहदा मृतकहरुका आफन्तजन तथा छिमेकीहरुले प्रहरी प्रशासनले अनुसन्धानमा लापरवाही गरेको भन्दै शुरुवमा शव जिम्मा नलिने अडान लिएका थिए । तर, लामो छलफल पछि शव जिम्मा लिएर अन्त्येष्टी गर्ने र अनुसन्धानको प्रगतिसहित सत्यतथ्य सार्वजनिक गर्न प्रहरी प्रशासनमा दबाब दिने सहमतिमा शव जिम्मा लिएका थिए । ‘प्रहरीको अनुसन्धान र भुमिकाप्रति हामीलाई पटक्कै चित्त बुझेको छैन, तर पनि शव जिम्मा लिएर अन्तिम सँस्कार गर्ने अनि प्रहरी प्रशासनमा दबाब दिने भनेर छलफलबाट सहमति गर्यौ,’मृतक बमबहादुरका भतिजा पर्ने प्रेम फियाकले भने ।

तस्बिर सौजन्य:भुमिका फियाक सुब्बा