धरान: नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीको सानदार प्रर्दशनसँगै सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ ।

बुधबार लुधियानामा भएको फाइनल खेलमा सावित्राको २ गोल मद्दतमा उनको क्लब सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३-१ ले हराउदै उपाधि जित्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा भने सेथु १-० ले पछि थियो । दोस्रो हाफको ५६ औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो । सावित्राको पासमा पासमा ग्रेसले दिएको क्रसमा इन्दुमथीले गरेको प्रहार मणिपुरकी उपमति देवीलाई लाग्दै आत्मघाती गोल भएपछि खेल बराबरी भयो ।

बराबरी गोल फर्काएको ४ मिनेटपछि नै सावित्राले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । यस्तै, खेलको ७० औं मिनेटमा फाइनलमा दोस्रो गोल र टिमको लागि तेस्रो गोल गर्दै सावित्राले जित सुनिश्चित गरिन् । सावित्राले प्रतियोगिताको ७ मध्ये ६ खेलमा गोल गरिन् । उनले प्रतियोगितामा ३ ह्याट्रिकसहित कुल १५ गोल गरेकी थिइन् । तस्बिर स्रोत: हाम्रोखेलकुद