ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सुन सफा गर्ने चार भारतीय पक्राउ” शीर्षकको समाचार छापिएको छ । गाउँ–गाउँमा गएर सुन सफा गराउदैँ हिँडने चारजना भारतीय नागरिकलाई प्रहरीले सुन सफा गर्ने सामग्रीसहित पक्राउ गरेको छ । ६ महिनाअघि भद्रपुर ५ की जुनु मेचेको सुनको सिक्रि सफा गर्दै ७ आना सुन गालेर लगेको उनीहरुमाथी आरोप लागेको थियो । सोही समूह बुधबार बिहान भारतबाट मेची नदी हुदैँ नेपालतर्फ आउादै गरेको अवस्थामा स्थानीयले चिनेपछि प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ पर्नेमा भारत भागलपुरका ४५ वर्षीय हरिस साह, ३८ वर्षीय सकेट साह, कटिहार विहारका ३९ वर्षीय धमेन्द्र साह र ३७ का हीरालाल साह रहेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठले जनाए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सोलु सदरमुकाममा अन्धकार” शीर्षकको समाचार छापिएको छापिएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहित आसपासको क्षेत्रमा १२ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
सल्लेरी च्याल्सा विद्युत कम्पनीको सेवा बन्द भएपछि सल्लेरीसहित आसपासको करिब एक हजार ८०० घरधुरी विद्युत् सेवाबाट बञ्चित भएका हुन् । कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत वैशाख २९ देखि जेठ ५ सम्म सेवा बन्द गरी काम गर्ने बताए पनि जेठ ८ सम्म पनि काम सकेको छैन । मौसम प्रतिकूल भएकाले निर्धा्रित समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले बताए । उनका अनुसार मौसम अनुकूल भए बिहिबार दिउँसोदेखि विद्युत सेवा सञ्चालनमा आउने छ । सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको पेनस्टक पाइप फेर्न काम समेत सकिएको छ । ६०० किलोवाट क्षमताको उक्त विद्युत कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनबेंशीलगायतको क्षेत्रमा विद्युत सेवा दिँदै आएको छ ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “विराटनगरबाट तास खेल्ने ८ जना पक्राउ” शीर्षकको समाचार छापिएको छ । विराटनगरमा तास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१६ स्थित कैलाश डंगोलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६३ हजार ५ सय ७५ नेपाली रुपैयाँ र एक हजार तीन सय भारतीय रुपैयाँ सहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध बुधबार जुवा ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

औजार : आजको औजार दैनिकमा “अनेरास्ववियू एकिकरणमा विवाद सुरु” शीर्षकको समाचार छापिएको छ । पार्टी समायोजन र एकतापछि नेपाल कम्यूनिष्ट पार्टीमा आन्तरिक विवाद र असन्तृष्टिहरु उत्पन्न भइरहेको समयमा अनेरास्ववियुको जिम्मेवारी बाडफाँडमा समेत असन्तुष्टि देखिएको छ ।
राजीनामाको चर्चा चलिरहेका बेला तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेबारी स्वीकार्ने बताएका छन् । प्रेस संगठन नेपाल झापाले बुधवार विहान बिर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तामाङले आफूमाथि अन्याय गरेपनि एकता अभियानलाई सफल बनाउन पाएको जिम्मेबारीबाट पछि नहट्ने प्रस्टाएका हुन् । तत्कालिन एमाले र माओवादीे केन्द्रको एकतापछि विद्यार्थी संगठनको संयोजक नबनाएको भन्दै तामाङले असन्तुष्टि व्यक्त गरेका थिए। नेकपा अध्यक्ष प्रचण्डले जिम्मेवारीबाट बिचलित नभई पर्खन भनेकाले यो निर्णय लिएको उनले खुलासा गरे । पार्टी एकतापछि नेकपा सचिवालयको बैठकले तत्कालीन अनेरास्ववियूका महासचिव ऐन महरलाई विद्यार्थी संगठनको संयोजक बनाएको छ ।