ताप्लेजुङ : वि.सं. १९५२ सालमा ताप्लेजुङ कारागार निर्माण गर्दा उतिबेलाको प्रशासनलाई यो कारागारमा २५ जनाभन्दा बढी कैदीबन्दी नहुने अनुमान थियो ।

१ सय १५ वर्षअघिको सोच र त्यही आधारमा बनाइएका संरचना २०७६ सालसम्म आइपुग्दा धेरै साँघुरो र कमजोर बने पनि अर्को विकल्प नहुँदा यहाँका कैदीबन्दीलाई कोचाकोच गरेर राख्नुपरेको छ । अहिले कारागारमा १ सय ४० जना कैदीबन्दी छन् । सोमबार मात्र १ जना छुटेर गएपछि संख्या १ सय ४० म झरेको हो । कारागार शाखाका प्रमुख धनिराम सिंहका अनुसार अहिले कारागारमा ९२ कैदी र ४८ थुनुवा रहेका छन् । यो क्षमताभन्दा करिब ६ गुणा बढी हो । ३ रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र ३ वटा घर छन् । एउटामा ३६ जना र अर्कोमा ३१ जनालाई राखिएको सिँहले जानकारी दिए । तेस्रो घरलाई पार्टेसन गरेर बनाइएको दुई वटा मसिना कोठामा १७ देखि १८ जनासम्म राखेर व्यवस्थापन गरिएको उनले जानकारी दिए । जग्गाको क्षेत्रफलमा खेल मैदान, शौचालय, आवास कक्ष, भोजनालयसहितका सबै संरचना अटाउनु परेको छ । कारागार सुरक्षा प्रशासन बस्ने कक्षसमेत यही क्षेत्रफलभित्रको संरचना हो । कारागार शाखाका प्रमुख सिंह अर्को विकल्प नहुँदा पुरानो र जीर्ण बनेको शताब्दी पुरानो संरचनालाई टालटुल र मर्मतसम्भारसहित सत्रचालन गरिरहेको बताउँछन् । –नागरिक पूर्वेली दैनिकबाट