धरान: संघीय संरचनापछि सुनसरीमा पहिलो वालमैत्री वडाको रुपमा धरान उपमहानगरपालिका वडा नं १३ घोषणा भएको थियो । गत असार २६ गते वालमैत्री वडा घोषित भएको यही वडामा अहिले वाल उद्यान निर्माण शुरु भएको छ ।

वालमैत्री वडामा एक वाल उद्यान हुनैपर्ने प्रावधान छ । वडा कार्यालयले धरान–२० र १३ नम्बर वडाको संगमस्थल फुस्रेस्थित सर्दुखोला पारी ओसो ध्यान केन्द्रको छेवैमा वाल उद्यान (मनोरञ्जन स्थल)को निर्माण शुरु गरेको हो । धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखाबाट ५ लाख रुपैयाँ बजेटमा करिब २ कठ्ठा जग्गा क्षेत्रफलमा वाल उद्यान निर्माण कार्य शुरु भएको छ । वाल उद्यानमा पिङ, चिप्लेटी, घुम्ने रिङ, गार्डेन, बच्चाहरुको लागि स्विमिङ पुल निर्माण गरिने वाल उद्यान निर्माण समितिका संयोजक खेम गुरुङले बताए । उद्यान गत शुक्रबारदेखि निर्माण शुरु भएको हो । ‘अहिले निर्माण स्थल डोजर लगाएर सम्याउने काम भयो,’समितिका संयोजक गुरुङ भने,‘पिङ, चिप्लेटी, घुम्ने रिङ, मिनी स्विमिङ पुलसहित गार्डेन पनि बन्छ ।’

यो उद्यानको आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । धरान–१३ नम्बर वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले प्रत्येक वडामा एक वाल उद्यान हुनुपर्ने भएकोले निर्माण थालिएको बताए । ‘एक वार्ड एक वाल उद्यान बनाउने भन्ने छ,’वडाध्यक्ष काफ्लेले भने ‘वालमैत्री वडाको ३९ सुचक मध्ये वाल उद्यान पनि पर्छ ।’ यसले फुस्रेलाई आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नमा सहयोग गर्ने उनले बताए । सर्दुखोला पारी वडा नम्बर २० को क्षेत्र हो । तर, यस क्षेत्र ओझेलमा परेकोले यसको क्षेत्रको संरक्षण गदै सहकार्य गरेर भौतिक पूर्वाधारहरु निर्माण भइरहेको स्पष्ट पारे । ‘वडाको तर्फबाट मैले २० नम्वरको वडाध्यक्षसँग मौखिक र लिखित रुपमा माग गरेको छु’ उनले भने,‘त्यसैले हामीले निर्माण कार्य शुरु गरेको हो ।’

सर्दुखोलामा ढुङगाको सर्प, हाँस, भ्यागुता लगायतका जिवजन्तुहरु निर्माणको क्रममा रहेको छ । पुल मुनि कलाकारहरुले सर्प बनाइसकेका छन् । यसैगरी, सर्दु पुललाई फूलैफूलले ढकमक्क ढाक्न फ्लावर व्रिज बनाउने काम हुदैछ भने रोप वेको भग्नावशेषलाई वीपी स्मृति पार्कको रुपमा विकास गरिदै छ ।