धनुषा: बुधबार राती धनुषाको जनकपुर उपमहानगरपालिका ८ विहार कुण्डस्थित जानकी विहारको महन्थ र मन्दिरमा डकैती गर्ने उद्देश्यले भारतबाट आएका ८ जना डाँकाको समुहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले डाँका समुहलाई राती करिब सवा ९ बजेतिर महावीरचोकस्थित लभ्ली होटलबाट डकैती गर्नुअघि नै हतियारसहित पक्राउ गरेको हो । उनीहरुले मन्दिरमा भएको सुनचाँदी र विहारका महन्थ नारायण शरणको बासस्थानमा भएको नगद डकैती गर्ने योजनाका साथ नेपाल आएका थिए । पक्राउ परेकाहरुलाई धनुषा प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरु बुधबार दिउँसो भारतको विहारवाट भारतीय नंम्बर प्लेटको दुईटा मोटरसाइकल र एक स्कुटरको साहतमा नेपाल आएका थिए । डकैती गर्न नेपाल आएको भन्ने सुचनाको आधारमा उनीहरुलाई होटलमा नै छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

dakait-dhanusha

जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी ईकाई कार्यालय जनकपुर, २ नं. प्रदेश प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालयसमेतको संयुक्त प्रहरी टोलीले घोरा हालेर डाका समुहलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा भारत बिहारको समस्तिपुर जिल्ला गदोपुरका २० बर्षीय रबि मल्लिक डोम (घाईते), समस्तिपुर जिल्ला सिमरी वडा नं ८ बिद्यापति नगर थानाका २० बर्षीय साहिल रजक (विवेक), पटौरी वडा नं. ३ का २४ बर्षीय अजित कुमार सिंह, भगवानपुर चक्सीव वडा नं ४ का २८ बर्षीय सुजित कुमार राय, महोदीनगर वडा नं. ६ का ३० बर्षीय अमित कुमार सिंह, २० बर्षीय अमित कुमार यादव, मधुवनी साहरघाट वडा नं ५ का ३२ बर्षीय रंजित कुमार भगत र साहरघाट वडा नं.८ का ३८ बर्षीय पप्पु भन्ने संजय कुमार सुमन रहेका छन् ।

प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा डकैतीको समुहले हतियार फायर गरी भाग्न खोजेपछि प्रहरीले पनि फायर गर्दा रबि मल्लिक डोमलाई गोली लागेको थियो । घाईते मल्लिकको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ । घटनापछि स्कुटर चढी फरार भएका पप्पू भन्ने संजय कुमार साह सुमनलाई पनि महोत्तरी जिल्लाको मटिहानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट मेड इन यूएसएको एक थान पेस्तोल, एक थान म्यागेजिन, २ थान गोली, १ थान खोका, चेम्बरमा गोली लोड रहेको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली, १ थान खुकुरी, ३ थान मोवाइल, १ थान आधार कार्ड, मोवाइलको व्याट्री एक थान र गाडीको कार्ड १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।