ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बेहुली छाडेर मण्डपबाटै बेहुला  हिँडेपछि..” शीर्षकको समाचार छापिएको छ । मोरङ जहदा गाउँपालिका ४ का २४ वर्षीय लक्ष्मण राजवंशीको परिवारले उनको विवाह गर्ने निधो गर्यो । आफन्त र घरपरिवारका सदस्यलाई लिएर सोही गाउँपालिकाकी २१ वर्षीया कन्याको घरमा पुगे । केटा र केटीपक्षबीच गफगाफ भयो । केटी र केटाको मन परापर पनि भयो र ४ जेठमा परम्परागत रीतिरिवाज अनुसार विवाह गर्ने साइत जुर्यो । दुवै परिवार विहेको तयारीमा जुटे । विवाहको सम्पूर्ण तयारी पूरा गरेर केटापक्ष जन्ती लिएर जेठ ४ गते दिउँसो बेहुली लिन दुलहीको घरमा पुगे । बेहुली पक्षले आफ्नो रीतिरिवाजअनुसार विधि पूरा गरी बेहुला र जन्तीलाई स्वागत गरे । बेहुला मण्डपमा बसे । बेहुलीपक्षसँग उनले अपेक्षा गरेअनुसारको तिलक –दाइजो) देखेनन् । तिलक नदिएको झोकमा बेहुला रिसले रन्थनिए । जन्ती लिएर बेहुला राजवंशी मण्डबाट घरतिर हिँडे । त्यो विवाह रोकियो । दाइजो नदिएको भनि विवाह रद्द र्गो बेहुला लक्ष्मण राजवंशीलाई बुधबार प्रहरीले पक्राउ गर्यो । प्रहरीले पक्राउ परेका राजवंशीलाई विहीबार जिल्ला अदालत मोरङमा मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसूर मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको डिएसपी श्रेष्ठले ले बताए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “झापामा आमा–छोरीको हत्या प्रयास” शीर्षकको अर्को समाचार पनि छापिएको छ । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् ।

आक्रमणको घटना राति भए पनि विहीबार बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए ।एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसकी बिरामी वृद्धा सासु थिइन ।

टाउकोमा धारिलो हतियारको चोट लागेकी घाइते आरतीलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल लगिएको र सामान्य घाइते अवस्थाकी उनकी छोरी अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ । घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । सो घरसँगै जोडिएको अर्को घरमा कोही पनि बस्दैनन् भने अरु घर केही टाढा छन् ।

छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो । छोरी अर्पणा रोइरहेकी थिइन् । बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन ।

गाउँलेले खबर गरेपछि घटनास्थलमा धुलाबारी इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनाली आफैं प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा जुटेका छन् । उनले घटनाको अनुसन्धान भइरहेको जनाउँदै अभियुक्त चाँडै पत्ता लगाइने बताए । बुधबार राति निकै ठूलो पानी परेको थियो । पानी परेकै बेला आक्रमणकारी सो घरमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

औजार : आजको औजार दैनिकमा “तीन जिल्ला जोड्ने पुल अलपत्र” शीर्षकको समाचार छापिएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइको गाउँ जोड्ने पुल तीन वर्षदेखि अलपत्र परेको छ । उदयपुरको चौदण्डीनगरपालिकाको रानीटार र भोजपुरको आमचोक गाउँपालिका अन्तर्गत पर्ने पाङचा भन्ने स्थानको दुधकोशीमा निमार्णाधीन पुल तीन वर्षदेखि अलपत्र परेको हो । निर्माण कमपनीको ठेकेदार ३ वर्षअघि फरार छन् । पुल निर्माण सम्पन्न गर्नको लागि २७ करोडमा ठेक्का लागेको थियो । सो पुल निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवाले पाएको थियो भने जयराम लामिछाने निर्माण कम्पनीको ठेकेदार हुन् । भोजपुर, खोटाङ र उदयपुर जिल्लालाई जोड्ने एकमात्र विकल्पको पुल निर्माण शरु हुदाँ सो क्षेत्रका बासिन्दा खुशीले गदगद भएका थिए । तर अहिले पुल निर्माण अलपत्र पर्दा भने निरासा बनेका छन् । 

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “डेढ करोडको खर्चमा ८६ लाख भ्रष्टाचार” शीर्षकको समाचार छापिएको छ । प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ । प्रदेश सभाका सभामुखको संयोजकत्वमा गठित संसदीय अनुगमन विशेष समितिले गरेको छानविनबाट भ्रष्टाचारको तथ्य बाहिर आएको हो ।