धरान: धरान–१४ स्थित दन्तकाली मन्दिरमा पित्तल छाना लगाउने काम शुरु भएको छ ।

साढे ३३ लाख बढी लागतमा मन्दिरमा पित्तलको छाना लगाउदै सौन्र्दयीकरण गर्ने काम शुरु भएको हो । मन्दिरको छानामा भएको गे्रनाइट हटाएर त्यसमा पित्तल लगाउन थालिएको दन्काली मन्दिर सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष पितरुमल अग्रवालले बताए । उनका अनुसार प्रदेश सरकारबाट आएको ३० लाख र उपभोक्ताबाट उठेको ३ लाख ७६ हजार ५ सय रुपैयाँले मन्दिरको तल्लो र माथिल्लो (गजुर भएको) छानोमा पित्तल लगाउने र मन्दिरको सरसफाइ गर्ने काम थालिएको छ ।

‘मन्दिरमा छानामा लगाइएको ग्रिनाइट हटाउने र सफाइ गर्ने काम भइरहेको छ’ समितिका अध्यक्ष अग्रवालले भने,‘अब २–४ दिनमा पित्तल लगाउन शुरु हुन्छ ।’ निर्माण कार्य चालूआर्थिक वर्षभित्रमा सक्ने लक्ष्य रहेको समितिले जनाएको छ । पौराणिक तथा पुरात्तात्विक महत्वको यो मन्दिरको छानामा केही समयअघि ग्रेनाइट लगाउन थालेपछि विवाद उत्पन्न भएको थियो । आधुनिक निर्माण सामग्री प्रयोग गर्न नपाइने भन्दै पुरात्तत्व विभागले छानामा ग्रेनाइट हाल्न रोक लगाएको थियो ।

धरानको विजयपुरस्थित प्रमुख धार्मिकस्थलमध्ये दन्तकाली पनि एक हो । हिन्दु आराध्यदेव शिवको पहिलो पत्नी सतिदेवीले आत्मदाह गरेपछि उनको शव बोकेर ब्रम्हाण्डमा चहार्नेक्रममा यहाँ सतिदेवीको दात पतन भएको विश्वास छ । प्रमुख शक्तिपिठकोरुपमा रहेको दन्तकालीमा दशैंमा भव्य मेला लाग्छ ।