धरान: भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी(भाजपा)ले प्रचण्ड बहुमत ल्याएर मात्र होइन, नेपाल र नेपालीहरुसँग साइनो गाँसिएको भारतको राज्य सिक्किमको विधानसभा निर्वाचनको मतपरिणामले पनि नेपालीहरुलाई अचम्मित तुल्याएको छ ।

विधानसभाको चुनावमा विगत २५ बर्षदेखि सिक्कममा शासन चलाइरहेका पवन चाम्लिङको सत्ताबाट बर्हिगमन भएको छ । उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडिएफ)ले चुनावमा २५ बर्ष यता नमिठो पराजय भोगेको छ । नेपाली मुल र नेपाली भाषी भारतीयहरुको बाहुल्यता भएको सिक्किम त्यसै पनि नेपालीहरुको लागि सधै चासोको बिषय रहन्छ । अहिले झन् लगातार २५ बर्ष मुख्यमन्त्री भएर इतिहास बनाएका पवन चाम्लिङको सत्ता बर्हिगमन नेपालीहरुको लागि अत्यधिक चासोको बिषय भएको छ । अहिले अधिकांश नेपालीहरुको सामाजिक सञ्जाल फेसबुकमा नरेन्द्र मोदीको भाजपाको जितसँगै सिक्किमको मतपरिणामको चर्चा छ ।

सिक्किममा विधानसभाको चुनावमा पिएस गोले नेतृत्वको क्रान्तिकारी मोर्चाले चाम्लिङलाई पराजयको नमिठो स्वाद चखाएको हो । मतपरिणाम अनुसार सिक्किमको ३२ सिटमध्ये मोर्चाले १७ सिटमा जित हासिल गरेको छ भने चाम्लिङ नेतृत्वको फ्रन्ट १५ सिटमा विजयी भएको छ । यसअघि, सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो । सिक्किममा लोकसभा सिट भने एउटा मात्र छ । त्यो सिट पनि मोर्चाले नै जितेको छ । करिब अढाई दशकसम्म सिक्किममा एकछत्र राज गरेका चाम्लिङको पार्टी किन हार व्यहोर्नु पर्यो ? अहिले नेपालीहरुमाझमा यही बिषयमा अनेक अड्कालबाजी भइरहेको छ ।

भ्रष्टारको मुद्दाले उम्मेदार थिएनन् गोले

गोले एक समय चाम्लिङका राजनीतिक सहयात्री नै थिए । मतभेद बढेपछि गोलेमाथि भ्रष्टचारको आरोप लगाएर चाम्लिङले कारबाही गरे । त्यसपछि गोलेले नयाँ पार्टी खोलेका थिए । गोलेको पार्टीले ३२ सिटमा नै उम्मेदवार दिएको भए पनि उनी आफै भने चुनावमा प्रतिस्पर्धी थिएनन् । उनी भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायसमेत भोगेका थिए । त्यसैले गोले आफै चुनावमा प्रतिस्पर्धामा उत्रिएनन् । उनीमाथि सन् २०१६ मा भ्रष्टचारको मुद्दा लागेको थियो ।

गोले चाम्लिङ नेतृत्वको पार्टीमा हुदा सन् १९९४ मा विधानसभा सदस्यमा चुनिएका थिए । उनी सन् १९९४ देखि १९९९ सम्म र १९९९ देखि सन् २००४ सम्म पशुपालन तथा उद्योगमन्त्री भएका थिए भने सन् २००४ देखि सन् २००९ सम्म भवन तथा आवास विभाग मन्त्रीको रुपमा पनि चाम्लिङ नेतृत्वको सरकारमा रहेका थिए । सन् २००९ मा चुनाव जितेपछि उनी उद्योग विभागको अध्यक्ष पनि बनेका थिए । तर, मतभेद र विवादको कारण गोलेले सन् २०१३ को सेप्टेम्बरमा एसडिएफ पार्टी छोडेको घोषणा गरे । गोलेको नयाँ पार्टीले सन् २०१४ को विधानसभा चुनावमा भने मात्र १० सिट जितेको थियो ।