काठमाडौं : स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले लगातार तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका छन् ।

युरोपियन लिगको यस सिजनमा सवार्धिक गोलकर्ता बन्दै मेस्सीले गोल्डेन बुटको अवार्ड जितेका हुन् । अर्जे्न्टिनाका मेस्सीले यस सिजनमा ३६ गोल गरेका थिए ।
योसँगै मेस्सीले लगातार तेस्रो सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्दै कीर्तिमान बनाएका छन् । मेस्सीको यो समग्रमा छैटौं गोल्डेन बुट हो । मेस्सी भन्दा पछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् ।
उनले चार पटक गोल्डेन बुटको अवार्ड जितेका छन् । यो अवार्ड जित्न मेस्सीले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि बनाए ।

शुक्रबार भएको सिजनको अन्तिम खेलमा रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेले ३३ गोल गरे । गत सिजन मेस्सीले ३४ गोल गर्दै लगातार दोस्रो सिजन गोल्डेन बुट अवार्ड जितेका थिए ।
त्यसअघि मेस्सीले सन् २००९/१० मा ३४ गोल, २०११/१२ मा ५०, २०१२/१३ मा ४६ र २०१६/१७ मा ३७ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।