झापा: केही दिनअघि ईटहरीका मेयर द्धारिकलाल चौधरीले पत्रकारलाई लोपरेको भिडियो अहिलेपनि सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । त्यही भिडियोको १ मिनेट २४ सेकेण्डमा मेयर चौधरीले एकजना पूर्व प्रमुख प्रशासकीय अधिकृतको नामै किटान गरेर भ्रष्टाचार गरेको र अनेक प्रकृया मिलाएर अख्तियारले क्लिन चिट दिएको कुरा खुलाएका छन् ।

मेयर चौधरीले नाम लिएका ती प्रमुख प्रशासकीय अधिकृत हुन्, सागर मिश्र । जो अहिले झापाको गौरादह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकारुपमा छन् । जब मेयर चौधरीको उक्त भिडियो सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरुबाट बाहिरियो, तब अहिले गौरादहका धेरैको ध्यान मेयर चौधरीले नाम लिएका सागर मिश्रतर्फ सोझिएको छ । सामाजिक सञ्जालमा अहिले यही बिषयलाई लिएर अनेकौं टिकाटिप्पणी सुरु भएको छ ।

sagar-mishra-5

केहिले त सामाजिक सञ्जालमै लेखेका छन्, ईटहरी सिध्याएर आका रे ...... । यस्तै गौरादहवासी अब सचेत हुनेबेला आयो भन्दै उल्लेख गरेको देख्दा प्रमुख प्रशासकीय अधिकृत मिश्रप्रति शंकाको दृष्टि गएको देखिन्छ । मिश्र त्यसबेला ईटहरीको चर्चित सिएफएल काण्डमा मुछिएको कुरा ईटहरीका मेयरले खुलाएपछि यही बिषयलाई लिएर अहिले मिश्रका बारेमा सामाजिक सञ्जालमा अनेकौं टिका टिप्पणी आउन थालेको छ ।