धरान : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक बर्षको बजेट आवधिक योजना अनुसार ल्याउने बताएका छन् ।

धरान उपमहानगरपालिका वडा नं ६ स्थित पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले आवधिक योजना तर्जुमा भएको र सोही अनुसार नै आगामी नीति, कार्यक्रम तथा बजेट आउने पनि बताएका हुन् । कानुन, दक्ष कर्मचारी र संरचनाको अभावले सरकारको काम ढिलाई भएको भन्दै उनले अब तीब्र गतिमा विकासका योजना र कार्यहरु अघि बढ्ने पनि बताए । ‘कानुनी आधार, संरचनागत अधार तयार गर्न केही समय लाग्यो । अहिले आधारहरु बनिसकेको छ, अब तीब्र गतिमा विकासका कामहरु अघि बढाउछौ,’मुख्यमन्त्री राईले भने,‘संरचनाको अभाव, कर्मचारी र थुप्रै कानुनहरुको अभावले बजेट भनेको अंकमा खर्च गर्न नसक्ने भयो, अर्को बर्ष त्यस्तो हुदैन ।’

IMG_7601

जनताको आवश्यकता र भावना सम्बोधन गर्ने गरी नीति, कार्यक्रम र बजेटको तयारी भइरहेको खुलाउदै उनले कृषि, पर्यटन, उद्योग, जलस्रोत र उत्पादनलाई प्राथमिकता दिइएको पनि बताए । उत्पादन र रोजगारी सृर्जनालाई सरकारले बिशेष ध्यान दिएको राईको भनाई थियो । परियोजना बैंक र लगानी सम्मेलन गरेर प्रदेशको विकासलाई सरकारले अघि बढाउने उनको भनाई थियो । प्रदेश सरकारले आवधिक योजना तर्जुमा गरेको र सोही अवधारणा अनुसारको बजेट कृषि, पर्यटन, उद्योग, पुर्वाधार विकास र रोजगारी सृर्जनामा केन्द्रीत हुने मुख्यमन्त्री राईले बताए । प्रदेशका सबै स्थानीय तहसँग समन्वय गरेर डुप्लिकेशन नहुने गरी र बजेट पनि छरपष्ट नहुने गरी ल्याउने मुख्यमन्त्री राईले बताए । ‘विकासका योजनाहरुलाई गुरुयोजना बनाएर मात्र अघि बढाउछौ । छरपष्ट बजेट खर्च गरेर हुदैन । डुप्लिकेशन पनि हुन्न,’उनले भने ।

सोही समारोहलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले स्मार्ट बैंकिङ सेवा शुरुवात गर्नुपर्ने बताए । साथै, उनले सरकारले निजी क्षेत्रलाई पनि संरक्षण गर्ने र सरकारी संस्था एवं निकायलाई प्रतिस्पर्धा गर्नसक्ने बनाउने नीति लिने बताए । बैंकका सिइओ किरणकुमार श्रेष्ठले पुर्णरुपमा सरकारी स्वामित्वमा भएको वाणिज्य बैंक नेपालको २८ वटा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी निक्षेप संकलन गर्ने र मुनाफा कमाउने बैंक भएको जानकारी दिए । धरानको पानवारीमा २ सय १९ औं शाखा भएको पनि उनले बताए ।